११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
खेल

क्यानद्वारा २०२६ का लागि खेलाडी वर्गीकरण: रोहित, दीपेन्द्र र सन्दीप ‘ए प्लस’ श्रेणीमा

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि खेलाडीहरूको नयाँ सेन्ट्रल कन्ट्र्याक्ट र वर्गीकरण सार्वजनिक गरेको छ।

यस पटक क्यानले पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश गर्दै पुरुष र महिला खेलाडीहरूलाई विभिन्न समूहमा वर्गीकरण गरेको हो।

नयाँ वर्गीकरणअनुसार पुरुषतर्फ पहिलो पटक तीन जना खेलाडी ‘ए प्लस’ क्याटेगोरीमा परेका छन्। एकदिवसीय टोलीका कप्तान रोहित पौडेल, टी-२० कप्तान दीपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने ‘ए प्लस’ मा समावेश भएका हुन्।

यस श्रेणीमा रहेका खेलाडीले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने क्यानले जनाएको छ।

पुरुषतर्फ कुल ३८ जना खेलाडीलाई पाँच श्रेणीमा विभाजन गरिएको छ। ‘ए’ श्रेणीमा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी रहेका छन्।

त्यस्तै, ‘बी’ श्रेणीमा आरिफ शेख, भीम सार्की, गुल्सन झा, ललित राजवंशी र नन्दन यादव अटाएका छन्।

‘सी’ श्रेणीमा अनिल साह, अर्जुन कुमाल, बसिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, कुशल मल्ल, लोकेश बम, शाहब आलम, शेर मल्ल र सन्दीप जोरा रहेका छन्।

यसैगरी, ‘डेभलपमेन्ट’ श्रेणीमा अर्जुन घर्ती, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सर्राफ, रासिद खान, रिजन ढकाल, सन्तोष यादव, त्रित राज दास, युवराज खत्री, सागर ढकाल र प्रतिश जीसीलाई राखिएको छ।

महिला खेलाडीतर्फ चारवटा श्रेणीमा कुल २५ जनालाई समेटिएको छ। महिलाको ‘ए’ श्रेणीमा कप्तान इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता राना मगर रहेका छन्। ‘बी’ श्रेणीमा कविता कुँवर, मनिषा उपाध्याय र सम्झना खड्का परेका छन्।

यस्तै, महिलातर्फको ‘सी’ श्रेणीमा बिन्दु रावल, कविता जोशी, रिया शर्मा र रुवी पोदार रहेका छन् । ‘डेभलपमेन्ट’ श्रेणीमा अनु कडायत, अश्मिना कर्माचार्य, ईश्वरी विष्ट, काजल श्रेष्ठ, लक्ष्मी साउद, ममता चौधरी, रचना चौधरी, रोमा थापा, सावित्री धामी, सना प्रविन, सिमाना केसी, सोनी पाख्रिन, सुमन विष्ट र यशोदा विष्टलाई समावेश गरिएको छ।

क्यानले खेलाडीहरूको प्रदर्शन र योगदानका आधारमा यो वर्गीकरण तयार गरेको जनाएको छ। विगतका वर्षहरूमा ‘ए प्लस’ श्रेणीको व्यवस्था नभए पनि यस पटकदेखि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहित गर्न यो नयाँ संरचना लागू गरिएको हो।

प्रकाशित: ११ जेष्ठ २०८३ १८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App