पश्चिम तराईमा केही दिन यता अत्यधिक गर्मी बढेको छ। कैलाली र कञ्चनपुरमा तापक्रम ४१ डिग्री सेल्सियस नाघेको छ। डेढ साता यता बढेको अत्यधिक गर्मीले सुदूरपश्चिम तराई जिल्लाको जनजीवन प्रभावित बनेको छ। गर्मीले बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। अत्यधिक गर्मीका कारण बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी समस्यामा परेका छन्। दिउसो तातो हावा चल्न थालेको छ।
जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका श्याम सुनारका अनुसार डेढ साता यता गर्मी अत्यधिक बढेको हो। एक साता यता ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम मापन भएको उनले बताए। सोमबार ४१.४ डिग्री सेल्सियस डिग्री तापक्रम रहेको उनले बताए।
‘हावामा पानीको मात्रा नहुनु र एक साता देखि ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम हुनुले अत्यधिक गर्मी बढेको हो’, उनले भने, ‘तातो हावा चल्नुको कारण यही हो’। गत बिहीबार पनि ४१.३ डिग्री सेल्सियस तापक्रम मापन भएको उनले बताए।
जनजीवन प्रभावित
अत्यधिक गर्मीले सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा जनजीवन कष्टकर बनेको छ। गर्मीले बजार लगायतका क्षेत्रमा चहलपहल घटेको छ। नियमित काममा जान पनि समस्या हुने गरेको स्थानीयले बताएका छन्।
अत्यधिक गर्मीले गर्दा विद्यालय जाने बालबालिकालाई पनि समस्या हुने गरेको छ। कक्षा कोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको छ। समय समयमा विद्युत् सेवा अवरुद्ध हुँदा घरभित्र पनि गर्मीले समस्या हुने गरेको स्थानीयले बताएका छन्।
बिरामी ह्वात्तै बढे
अत्यधिक गर्मीले बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ। सेती प्रादेशिक अस्पताल देखि यहाँका निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा गर्मीका कारण बिरामी भिड लाग्ने गरेको छ। सयौँ बिरामी गर्मीका कारण अस्पताल जाने गरेका छन्।
वरिष्ठ फिजिसियन डा. शुभेस राज कायस्थ अत्यधिक गर्मीले बिरामीको सङ्ख्या धेरै बढेको बताउँछन्। ‘अस्पतालमा र क्लिनिकमा गर्मीकै कारण सयौँ बिरामी आउने गरेका छन्’, उनले भने।
गर्मीले भाइरल ज्वरो, पेट दुख्ने, अपच हुने र झाडापखालाका बिरामी आउने गरेको उनको भनाई छ। यसै गरी छालामा दाना आउने लगायतका समस्या देखा पर्ने गरेका छन्।
अत्यधिक गर्मीले शरीरमा पानीको मात्रा कम भएर मुख सुक्ने, थकान लाग्ने, कमजोर हुने उनी बताउँछन्।
गर्मीबाट बच्न के गर्ने ?
टन्टलापुर घाममा ननिस्कन विज्ञहरूले सुझाएका छन्। यसै गरी शरीरमा पानीको मात्रा कम हुन नदिन प्रशस्त पानी खाने, जीवनजल खाने, कागती पानी खाने डा. कायस्थको सुझाव छ । घाममा हिँड्नै परे छाता ओढ्ने, शरीर ढाक्ने गरी हल्का कपडा लगाउने, टाउको छोप्न उनको सुझाव छ।
प्रकाशित: ११ जेष्ठ २०८३ १९:०४ सोमबार



-600x400.jpg)

