२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिपमा नेपालको सुखद सुरुवात, भुटानमाथि साँधुरो जित

स्टार खेलाडीको अभाव खड्किँदा नेपालले भुटानमाथि साँघुरो जितसँगै भारतमा भएको साफ महिला च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ ।

गोवा शहरमा सोमबार भएको समूह ‘ए’ को आफ्नो पहिलो खेलमा नेपालले भुटानमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । डिफेन्डर गीताको गोल नै नेपाललाई तीन अंक प्राप्त गर्न पर्याप्त बन्यो । जवाहरलाल नेहरु रंगशालामा पहिलो हाफमा नै नेपालले गोल गरेको हो । दोस्रो हाफमा थप गोल हुन सकेन ।

भुटानले पनि नेपाललाई चुनौती दिए पनि हार टार्न सकेन । साबित्रा भण्डारी, सबिता रानामगर र प्रीति राई जस्ता स्टार खेलाडीको अभाव टोलीका खड्कियो । साबित्रा र सबिता चोटका कारण अहिले मैदान बाहिर नै छन् । प्रीति भने कम्बोडियामा व्यवसायिक लिग खेलिरहेकी छन् । स्टार खेलाडी नहुँदा नेपालले भुटानमाथि आफ्नो दबदबा देखाउन सकेन ।

नेपालले खेलको २३औं मिनेटमा आत्घाती उपहार पायो । दीपा शाहीको कर्नरलाई नेपालले सदुपयोग ग¥यो । अनिता बस्नेतको असफल हेडर प्रयासबाट आएको बल अनिता लम्जेलसम्म पुग्यो । डेब्यु गरिरहेकी लम्जेलले बललाई कटब्याक गरिन् । उक्त बल गीता रानाको प्रहार विपक्षी खेलाडीसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो । त्यसअघि नेपालले १४औं मिनेटमा राहतको सास फेरेको थियो ।

भुटानको हाइ प्रेसिङमा नेपालकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा गल्ती गर्न पुगिन् । लेफ्ट ब्याक हिराकुमारी भुजेललाई पास दिन खोज्दा अञ्जिलाको बल पेमा चोइकीको खुट्टामा पुग्यो । तर, चोइकीले त्यो अवसरलाई सदुपयोग गर्न सकिनन् । ३८औं मिनेटमा नेपालका स्ट्राइकरद्वय रश्मिकुमारी घिसिङ र रेखा पौडेल गोलनजिक देखिएकी थिइन् ।

रश्मिको प्रहार आकासिन पुग्यो भने रेखाको लोअर अटेम्प्ट पोलमा लागेर फर्कियो । दोस्रो हाफमा पनि नेपालले केही अवसर सिर्जना ग¥यो । रेखाले केही अवसर बनाए पनि बललाई जाली भने चुमाउन भने सकिनन् ।

युवा स्टार मीना देउवाले पनि गोल गरेकी थिइन् । तर, त्यो अफसाइड निर्णय भयो । तीन राष्ट्र रहेको समूहमा जितसँगै नेपाल सेमिफाइनलनजिक पुगेको छ । आइतबार नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्ने तालिका छ । श्रीलंकालाई बराबरीमा मात्र रोक्न सके नेपालले सेमिफाइनलमा बनाउनेछ । आगामी बिहीबार भुटानले श्रीलंकासँग खेल्ने तालिका छ ।

समूह ‘बी’ मा आयोजक भारत, बंगलादेश र माल्दिभ्स छन् । पछिल्ला सात संस्करणमध्ये भारत पाँच र बंगलादेश दुई पल्टको च्याम्पियन हुन् । पाँच पल्ट फाइनल खेले पनि नेपाल उपाधिविहीन छ ।

प्रकाशित: ११ जेष्ठ २०८३ १९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App