पछिल्ला सिजन खराब नतिजा सामना गरेको एफसी चितवन अन्ततः नेपाल प्रिमियर लिग (एनएसएल) को प्लेअफमा पुग्न सफल भएको छ।
लिगको अन्तिम खेलमा बिहीबार धनगढी एफसीमाथि ३–१ को जित निकाल्दै चितवन यस तेस्रो सिजनमा प्लेअफ पुग्ने चौथो टोली बनेको हो। सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेको यस सिजनमा यसअघि ललितपुर सिटी एफसी, धनगढी र पोखरा थन्डर्स प्लेअफमा पुगिसकेका थिए। त्यसैले यो खेल एफसी चितवनसँगै पूर्वविजेता काठमाडौं रेजर्सका लागि महत्त्वपूर्ण थियो। प्लेअफमा पुग्न चितवनका लागि जित या कम्तीमा बराबरीको नतिजा आवश्यक थियो। यता, काठमाडौंका लागि भने चितवनको हार नै आवश्यक थियो। यद्यपि, बिहीबार दशरथ रंगशालामा काठमाडौंले चाहेअनुरूप नतिजा निस्किएन।
पुनरागमन गर्दै जित निकालेपछि चितवन अन्ततः प्लेअफमा पुग्न सफल रह्यो। पहिलो दुई सिजनमा गरेर चितवनले दुई जित मात्र निकालेको थियो। यसपल्ट भने जितबाट सिजन सुरुआत गरेको चितवनले पछि लय गुमाएपछि प्लेअफ संकटमा देखिन्थ्यो। तर, प्लेअफका दाबेदारका रूपमा हेरिएका झापा एफसी र काठमाडौं रेजर्सले पनि सुखद प्रदर्शन गर्न नसक्दा चितवनलाई थप सहज पनि बनेको हो।
निर्णायक मानिएको खेलमा पनि चितवनले सफलता पाउँदा यसपल्ट प्लेअफ पुग्ने लक्ष्य सफल भयो। यता, यो नतिजापछि पछिल्ला दुई सिजन प्लेअफमा पुगेको काठमाडौं यसपल्ट लिगबाटै बाहिरिन बाध्य भयो।
चितवनका प्रशिक्षक नवीन न्यौपानेले धनगढीले दोस्रो रोजाइका खेलाडी राखे पनि जित्नै पर्ने अवस्था भएकाले धेरै दबाब सामना गरेको बताए। ‘आजको खेलमा धेरै दबाब थियो। त्यसमा पनि जर्जप्रिन्स कार्कीको उत्कृष्ट गोलबाट सुरुमा नै पछि पर्यौं। तर, पेनाल्टी गोलबाट फर्किने अवसर पायौं। कम्तीमा एक अंक चाहिएको अवस्था थियो। त्यसपछि बल पोसेसनमा राखेर खेल्ने नीति लियौं र त्यसमा सफल पनि भयौं। तर, धनगढीका राम्रा खेलाडी बार्बोजु मैदान प्रवेश गरेपछि केही चुनौती सामना गरेका थियौं। यद्यपि, क्षति बेहोर्नुपरेन र जित प्राप्त ग¥यौं,’ नवीनले भने, ‘चितवनले गरेको लगानीअनुरूप नतिजा दिन पाउँदा धेरै खुसी छु। आगामी खेलमा थप उत्कृष्ट खेल दिने मेरो प्रयास हुनेछ।’
चितवनले तेस्रो भेटमा धनगढीलाई हराउँदै पछिल्ला दुई हारको बदलासमेत लियो। शीर्ष दुई स्थानमा रहेर क्वालिफायरमा नै स्थान पक्का गरेकाले यस खेलमा धनगढीले महत्त्वपूर्ण खेलाडीलाई आराम दिएको थियो। तर पनि अग्रता लिँदै धनगढीले राम्रो सुरुआत गरे पनि त्यसलाई जोगाउन भने सकेन। यस सिजनको पहिलो हार सामना गर्नुपर्यो।
धनगढीका प्रशिक्षक म्यानुएल मार्टिनेजले केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसकिएको उल्लेख गरे। धनगढीका गोलकर्ता जर्जप्रिन्स कार्कीले नयाँ टोली भएकाले सेट हुन नसक्दा सोचेअनुरूप नतिजा नआएको बताए। जितपछि चितवन लिगको तेस्रो स्थानमा उक्लियो र इलिमिनेटरमा पोखरासँग भेट पक्का गर्यो। हारका बावजुद धनगढीले शीर्ष स्थानको ललितपुरसँग पहिलो क्वालिफायरमा नै खेल्नेछ।
समान ६ खेलबाट ललितपुर १२ अंकका साथ शीर्षमा र धनगढी ११ अंकसहित दोस्रो स्थानमा छन्। समान खेलबाट एफसी चितवन १० अंक जोड्दै तेस्रो र पोखरा आठ अंकका साथ चौथो स्थानमा रहेर प्लेअफमा पुगेका हुन्। काठमाडौंले पनि समान आठ अंक नै जोडेको थियो। तर, गोलअन्तरमा पछि पार्दै पोखरा चौथो स्थानमा रहेको हो।
धनगढीले खेलको सातौं मिनेटमै जर्जप्रिन्स कार्कीको उत्कृष्ट गोलबाट अग्रता लियो। चितवनका गोलकिपर अमल नाइट पोजिसनमा नरहेको अवस्थामा जर्जप्रिन्सले मध्य भागबाट गरेको प्रहार गोलमा परिणत भएका हो। १४औं मिनेटमा पेनाल्टी गोलबाट चितवनले १–१ को बराबरीमा ल्यायो। छिरिङ गुरुङले पेनाल्टी बक्सको राइट साइडबाट गरेको क्रसमा धनगढीका अशोक खवासले ह्यान्ड गरेपछि खेलका रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टी दिए।
सो अवसरमा नोदिर माभलोनोभले गोल गर्दै चितवनलाई खेलमा फर्काए। नोदिरले गरेको प्रहारमा धनगढीका गोलकिपर जियारथ शेखले सही दिशातर्पm डाइभ गरे पनि भेट्टाउन सकेनन्। २०औं मिनेटमा पनि चितवनका अभिषेक लिम्बूले लामो दूरीबाट गरेको प्रहार धनगढीका गोलकिपर जियारथका लागि चुनौती भएन।
पहिलो हाफको थप समयमा जय गुरुङको गोलबाट चितवनले अग्रता लियो। राइट साइडबाट छिरिङले दिएको बललाई जयले वान टचमार्फत जाली चुमाएका हुन्। त्यसपछि गोल निस्किएन र चितवनले २–१ को अग्रता लियो। दोस्रो हाफको सुरुमा नै चितवनले तेस्रो गोल गर्यो।
५१औं मिनेटमा धनगढीका अमृत श्रेष्ठको आत्मघाती गोलबाट चितवनले ३–१ को अग्रता लियो। भिक्टोर मानसारेको क्रस रोक्ने क्रमममा अमृतको घुँडामा ठोकिएर बलले जाली चुमेको हो। इन्जुरी समयमा धनगढीका सर्जियो बार्बोजुले गरेको प्रहार चितवनका सब्स्टिच्युट गोलकिपर प्रदीप भण्डारीले रोके। यसपछि गोल निस्किएन र चितवनले तेस्रो जित निकाल्दै प्लेअफमा स्थान बनायो। चितवन तेस्रो सिजनमा आएर प्लेअफमा पुग्न सफल भएको हो। यो खेलसँगै तेस्रो सिजनको लिग चरणका खेल पूरा भएको छ।
प्रकाशित: ५ वैशाख २०८२ ०७:११ शुक्रबार