नेपाली क्रिकेट टोली हङकङमा हुने चार देशीय टी ट्वान्टी क्रिकेट शृंखलामा सुखद प्रदर्शन गर्ने लक्ष्यसहित होमिएको छ। आगामी अप्रिल ९ देखि १३ सम्म हङकङमा नेपालले टी ट्वान्टी शृंखला खेल्दै छ। नेपालसहित घरेलु टोली हङकङ, कतार र कुवेतले शृंखलामा प्रतिस्पर्धा गर्दैछन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले तयारी छोटो भए पनि प्रभावकारी भएकाले यस टी ट्वान्टी शृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार आयोजना गरेको बिदाइ कार्यक्रममा नेपालका कप्तान रोहितले प्रधानमन्त्री कप क्रिकेटलगत्तै तयारीमा जुटेको र प्रशिक्षण प्रभावकारी पनि भएकाले सुखद प्रदर्शन गर्ने अपेक्षा गरेका हुन्। आगामी सेप्टेम्बरमा टी ट्वान्टी विश्वकपको एसियाली क्षेत्रको क्वालिफायर हुँदै छ। त्यसैको तयारी गर्न पनि यो शृंखला उपयोगी हुने उनको विश्वास छ।
‘सिद्धार्थ क्रिकेट मैदानमा तयारी राम्रो भयो। त्यहाँ जुन उद्देश्यसाथ तयारी गर्न गएका थियौं, त्यो पूरा पनि भएको छ। टिम पनि सन्तुलित छ। त्यसैले हङकङमा राम्रो क्रिकेट खेल्नेमा विश्वस्त छौं,’कप्तान रोहितले भने, ‘ज्ञानु दाई (नेपाली टोलीका अन्तरिम प्रशिक्षक ज्ञानेन्द्र मल्ल) सँगै क्रिकेट खेलेका थियौं। उहाँकै प्रशिक्षणमा पनि खेल्दै छौं। त्यसैले पनि उत्साहित पनि छु।’ नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुआर्ट ल नियुक्त भैसकेका छन्।
तर, उनले आगामी अप्रिल २४ पछि मात्र नेपाली टोलीको जिम्मेवारी समाल्नेछन्। हङकङ शृंखला पछि मात्र ल नेपाली टोलीसँग जोडिनेछन्। त्यसैले पनि नेपालका पूर्वकप्तान तथा अनुभवी ब्याटर ज्ञानेन्द्रले टोलीको अन्तरिम प्रशिक्षकका रूपमा काम गरेका हुन्। प्रशिक्षक ज्ञानेन्द्रले यसबीच आफूले पनि मुख्य प्रशिक्षक स्टुआर्टसँग कुराकानी गरेको उल्लेख गरे। ‘मैले उहाँसँग (मुख्य प्रशिक्षक स्टुआर्ट) कुरा गरेको थिएँ। तिमीले टोली हेरिरहेका छौं र त्यसैले तिमीलाई नै सबै थाहा छ। आफ्नो तरिकाले काम गर्नु भन्नु भयो,’ ज्ञानेन्द्रले मुख्य प्रशिक्षक स्टुआर्टसँगको कुराकानीबारे भने।
रोहितको कप्तानीमा गत शनिबार मात्र १४ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा भएको थियो। यस क्रममा लोकेश बम, साहब आलम, बसिर अहमद र नन्दनकुमार यादवले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। केही समयअगाडि मात्र सम्पन्न प्रधानमन्त्री कपमा उनीहरूले राम्रो प्रदर्शन गरेका थिए। विकेटकिपर तथा ब्याटर लोकेशले पछिल्लोपल्ट सन् २०२४ को १३ मार्चमा पपुवा न्यूगिनीविरुद्ध खेलेमा थिए। त्यसयता उनी टोलीमा छैनन्। स्पिनर साहबले पनि करिब तीन वर्षपछि टोलीमा पुनरागमन गरेका हुन्।
उनले अन्तिमपल्ट २०२२ को अगस्ट २९ मा केन्याविरुद्ध खेलेका थिए। अलराउन्डर बसिर पनि लामो समयपछि टोलीमा फर्किएका हुन्। उनले अन्तिमपल्ट सोही वर्ष अगस्ट ३० मा केन्यासँगै खेलेका थिए। अर्का अलराउन्डर नन्दनले भने डेब्यु गर्न बाँकी छ। पछिल्ला समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका केही खेलाडीले कमब्याक गरेको रोहितले पनि उल्लेख गरे। त्यसैले टोली सन्तुलित रहेको उनको बुझाइ छ। आफ्नो उत्कृष्ट दिने र टिमलाई जिताउनु नै उद्देश्य हुने भएकाले सोहीअनुरूप हङकङ खेल्ने रोहितको विश्वास छ।
‘प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटपछि हामीसँग धेरै समय थिएन। छिट्टै नयाँ फरम्याटमा स्विच भइहाल्यौं। तर, भर्खर प्रतियोगिता खेलेर आएकाले सहज भयो,’उनले भने। पछिल्ला ५/६ दिनको क्याम्पमा प्रभावकारी तयारी गरेको नेपाली टोलीको विश्वास छ। ‘यो क्याम्पबाट चाहेजति लक्ष्य प्राप्त गर्यौं। तर, तयारी र योजनाअनुरूप हङकङमा कार्यान्वयन गर्नु महत्वपूर्ण हुन्छ,’ कप्तान रोहितले उल्लेख गरेका छन्। आइसिसी विश्वकप लिग–२ (२०२४–०२६) साइकलमा नेपाली टोलीको प्रदर्शन सुखद छैन। अहिलेसम्म नेपालले १२ खेल खेल्दा दुई जित मात्र निकालेको छ। त्यसैले एकदिवसीय मान्यता र विश्वकप छनोट चरणको सफलता जोगाउन नेपाली टोलीका लागि कठिन बन्ने संकेत देखिएको छ।
कप्तान रोहितले पनि टोलीको ध्यान त्यसमा पनि केन्द्रीत हुने आशा व्यक्त गरेका छन्। ‘विश्वकप लिग–२ पनि हाम्रा लागि महत्वपूर्ण छ। हरेक फरम्याटमा एडजस्ट भएर खेल्नेछौं। समग्रमा सन् २०२३ र २०२४ को नेपाली क्रिकेटमा राम्रो नतिजा आएको थियो। यो वर्ष पनि त्यसलाई निरन्तरता हुने आशा छ,’उनले भनेका छन्। नेपाली टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले यो टिमसँग भिजेर काम गर्न सहज भएको र त्यहीअनुरूप तयारी पनि प्रभावकारी गरेको बताए। उनले टी ट्वान्टी क्वालिफायरका लागि अहिलेदेखि नै यसरी तयारी गरेर जाने हो भने लक्ष्य पूरा हुने आशा व्यक्त गरे। देशबाट खेलेर सोही टोलीको प्रशिक्षण गर्न पाउनु आफ्नो लागि गर्वको क्षण रहेको प्रशिक्षक ज्ञानेन्द्र बताउँछन्।
तर, यो भूमिकाबाट आफू धेरै दबाबमा नरहेको उनले स्पष्ट पारे। यसलाई ठूलो जिम्मेवारीको रूपमा लिएर अगाडि बढ्ने पनि ज्ञानेन्द्रले उल्लेख गरे। सबै खेलाडी व्यावसायिक क्रिकेटमा राम्रो रहेकाले उनीहरूलाई सोहीअनुरूप मार्गनिर्देशन नै पर्याप्त हुने उनको बुझाइ छ। नयाँ प्रशिक्षक स्टुआर्टले हालका लागि आफ्नो योजनाअनुरूप अगाडि बढ्न भनेको पनि उनले उल्लेख गरेका छन्। सोमबार नै नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले नेपाली टोलीको बिदाइ गरेका थिए। नेपालले कतारसँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ। दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्ने तय छ। लिगचरणमा शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्।
तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। गत शनिबार मात्र हङकङमा हुने टी ट्वान्टी–२० आई क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको थियो। रोहितको कप्तानीमा रहेको टोलीमा लोकश, नन्दन, बसिर र साहबसँगै कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, रिजन ढकाल, गुलसनकुमार झा र कुशल मल्ल छन्।
चर्चित स्पिनर सन्दीप लामिछाने र अनिल साह भने बन्द प्रशिक्षणमा नै समावेश थिएनन्। सन्दीप शल्यक्रियाबाट रिकभर गरिरहेका छन्। अनिलले औंलामा चोट सामना गरेका थिए। प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका किरण ठगुन्ना, अर्जुन घर्ती र दीपेन्द्र रावतले भने टी ट्वान्टी फरम्याटको राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन्।
प्रकाशित: २६ चैत्र २०८१ ०८:१३ मंगलबार