३१ चैत्र २०८१ आइतबार
image/svg+xml २२:२० अपराह्न
खेल

अन्तिम समयमा समालिएन चितवन

झापा एफसीविरुद्ध बल अगाडि बढाउँदै एफसी चितवनका टोरिक जेबरिन। तस्बिर: नागरिक

इन्जुरी समयमा समालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा आइतबार झापा एफसीसँग बराबरीको नतिजा सामना गरेको छ।

खेल सकिन लाग्दासम्म चितवन आफ्नो तेस्रो खेलमा तीन अंकनजिक देखिन्थ्यो। तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इन्जुरी समयमा पेनाल्टी गोल बेहोरेपछि चितवनले झापासँग १–१ गोलको नतिजा सामना गर्‍यो।

चितवनका टोरिक जेबरिन र झापाका अलहाजी गेरोले गोल गरेका हुन्। झापाले यस सिजनमा आफ्नो पहिलो गोल गर्दा चितवनले भने सिजनकै पहिलो गोल सामना गर्नुपर्‍यो। बराबरीसँगै चितवनको यस सिजनको विजयीयात्रा पनि रोकिन पुग्यो। झापाले भने लगातार तेस्रो बराबरीको नतिजा सामना गरेको छ। पछिल्ला दुई सिजनमा खराब प्रदर्शन गरेको चितवन प्लेअफमा पुग्न असफल टोली हो।

यी दुई सिजनमा गरेर चितवनले दुई जित मात्र निकालेको थियो। तर, सिजन भने उत्कृष्ट प्रदर्शन गर्दा चितवनलाई प्लेअफको दाबेदारका रूपमा पनि हेरिएको छ। सोहीअनुरूप लगातार तेस्रो जित निकाल्दै चितवन बलियो दाबेदार कायमै राख्न चाहन्थ्यो। तर, अन्तिम समय समालिन नसक्दा लक्ष्य पूरा भएन। साथै लगातार तीन खेल जित्दै प्लेअफको बलियो दाबेदार बन्ने चितवनको योजना पनि असफल भयो। यद्यपि, चितवनका प्रशिक्षक नवीन न्यौपानले अझै पनि प्लेअफ होडमा पकड नै रहेको बताएका छन्। ‘अझै पनि हामी अपराजित नै छौं। साथै अंकतालिकाको शीर्ष स्थानमा पनि छौं। जित हुँदा बलियो स्थितिमा हुन्थ्यौं। तर, बराबरीले पनि हामी शीर्ष चारका लागि राम्रो स्थितिमा नै छौं,’ नवीनले भने।

तीन खेलबाट सात अंकसहित चितवन शीर्ष स्थानमा यथावत् छ। तर, चितवनले दोस्रो स्थानमा रहेको ललितपुर सिटी एफसीसँग अंकदूरी बढाउने अवसर भने गुमायो। समान तीन खेलबाट ललितपुर दुई अंकले पछाडि छ। चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० र दोस्रो खेलमा बुटवल लुम्बिनीलाई १–० ले हराएको थियो। झापाको भने तीन खेलबाट तीन अंक मात्र छ।

झापाले पहिलो खेलमा बुटवलसँग र दोस्रो खेलमा काठमाडौं रेजर्ससँग गोलरहित बराबरी खेलेको थियो। चितवनका प्रशिक्षक नवीन न्यौपानेले इन्जुरी समयमा दिएको जिम्मेवारीअनुरूप खेलाडीले गर्न नसक्दा आइसकेको तीन अंक खोसिएको बताए।

‘आजको खेल कठिन नै थियो। तर, पनि तीन अंकनजिक थियौं। तर, अन्तिम समयमा खेलाडी समालिन सकेनन्। २४ घन्टामा नै अर्को खेल खेल्नुपर्दा खेलाडीहरू थकित देखिए। अग्रतापछि विपक्षीको अट्याकमा काउन्टर रणनीति बनाएका थियौं। तर, सफल भएन,’ प्रशिक्षक नवीनले भने। उनले रेफ्रीमा प्राविधिक समस्या र फिटनेसको अभाव देखिएको भन्दै उनीहरूको आलोचनासमेत गरेका छन्।

झापाका प्रशिक्षक प्रवेश कटवालले जितका लागि आए पनि सफल नभएको र एक अंकबाट पनि सन्तुष्ट नै रहेको बताए। यद्दपि, उनले लगातार तीन खेलमा अंक बाँड्नु पर्दा शीर्ष चारको होड कठिन हुने बताए। बलियो चितवनविरूद्ध धेरै अवसर पाए पनि सदुपयोग हुन नसकेको उनले उल्लेख गरे। तर, पेनाल्टी गोलबाट अंक पाउँदा सन्तुष्ट रहेको उनको भनाइ छ।

त्यसअघि चितवनले खेलको पाँचौं मिनेटमा नै गोल गर्ने उत्कृष्ट अवसर सिर्जना गर्‍यो। तर, भिक्टोर मानसारेको करिब २५ यार्डबाट गरेको सशक्त प्रहार झापाका गोलकिपर एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे। तीन मिनेटपछि नै चितवनका शिशिर लेखीले अग्रता लिने अवसर सदुपयोग गर्न सकेनन्।

झापाको गोलकिपर एन्जल अगाडि बढेको अवस्थामा उनको २२ यार्डबाट लेफ्ट फुटेड सट पहिलो बारमा लागेर बाहिरियो। मध्य भागबाट टुरिक जेबरिनले दिएको सुन्दर बललाई शिशिरले तीन डिफेन्डरबाट निस्कदै अवसर बुने पनि सदुपयोग गर्न भने सकेनन्। झापाले पनि चितवनका डिफेन्डर जोनाथन क्याम्बेलकले दिएको ब्याक पास खोस्दै अग्रता लिने सुन्दर अवसर बुन्यो।

गेरोले उक्त बल खोस्दै पेनाल्टी बक्सबाट गरेको प्रहार चितवनका गोलकिपर अमल नाइटले पन्च गर्दै बचाउ गरे। २५औं मिनेटमा पनि झापाका प्रबिन खुलालले लामो दूरीबाट गरेको प्रयास पोस्टको दिशामा रहन सकेन। यद्यपि, चितवनले २८औं मिनेटमा टोरिकको गोलबाट अग्रता बुन्यो।

शिशिर लेखीले पेनाल्टी बक्सबाटै दिएको बललाई टोरिकले लेफ्ट फुटेड सटबाट जाली चुमाएका हुन्। झापाका छिरिङ लामाले डिफेन्समा गल्ती गरेपछि चितवनले त्यसको फाइदा लिएको हो। ३८औं मिनेटमा गेरोले झापालाई बराबरीमा ल्याउने सुन्दर अवसर खेर फाले। नजिकै दूरीबाट उनको फ्री हेडर पोस्टको दिशामा रहन सकेन।

यससँगै पहिलो हाफमा चितवन १–० ले अगाडि रह्यो। दोस्रो हाफको सुरुमै झापाले आक्रमण बुने पनि सफलता पाउन भने सकेन। लामो दूरीबाट अभिनाश स्याङ्तानको सट चितवनका गोलकिपर अमलको लागि चुनौती बनेन। ५९औं मिनेटमा पनि झापाको गोल गर्ने प्रयास सफल भएन।

चितवनका डिफेन्डर जोनाथन र अभिशेक लिम्बूबीच तालमेल नमिल्दा झापाको गोल गर्ने प्रयास असफल भएको हो। झापाका गेरोले लेफ्ट साइडबाट दिएको बललाई जोनाथनले क्लियर गर्ने प्रयास गरे। तर, त्यो बल बारमा लागेर चितवनका गोलकिपर अमलको हातमा नै पुग्यो। ६८औं मिनेटमा पनि झापाको कर्नर किकबाट गोल गर्ने प्रयास अमलले नै बिफल बनाएका हुन्।

लाजर आर्सिकको उत्कृष्ट कर्नरलाई उनले पन्च गर्दै बाहिर पठाए। तीन मिनेटपछि नै चितवनका छिरिङ गुरुङको लामो दूरीबाट गरेको सट पनि झापाका गोलकिपर एन्जलका लागि चुनौती भएन।

८१औं मिनेटमा झापाका अभिशेकले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहार पोस्टको दिशामा रहन सकेन। ८८औं मिनेटमा लाजरको फ्रिकिक पहिलो बारमा लागेर फर्किंदा झापाले बराबरी गर्ने अवसर चुकायो। २६ यार्डबाट उनको सटबाट चितवनका गोलकिपर अमल बिट भए पनि बार बाधक भयो। तर, इन्जुरी समयमा झापाले पेनाल्टी गोलबाट १–१ को बराबरी ल्यायो। चितवन नीरज चौधरीले आरोन थापालाई लडाएपछि झापाले पेनाल्टी अवसर पाएको हो।

खेलका रेफ्री कबिन ब्यन्जनकारले सहायक रेफ्रीको सहायताबाट पेनाल्टी निर्णय लिएका हुन्। त्यो अवसरमा झापाका गेरोले गोल गरे। उनको पेनाल्टी प्रहारलाई चितवनका गोलकिपर अमलले भेट्टाउन नै सकेन। त्यसपछि थप गोल भएन र खेल १–१ को बराबरीमा नै सकियो।  

प्रकाशित: २५ चैत्र २०८१ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App