२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml ३:४६ पूर्वाह्न
खेल

चैत २७ गतेदेखि राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स

चैतको तेस्रो सातादेखि ललितपुरमा राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप हुने भएको छ।

नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि वैशाख २ गतेसम्म हुन लागेको हो। ललितपुरको च्यासल रंगशालामा चौथो संस्करणको रग्बी फिफ्टिन्स गर्न लागिएको संघले जानकारी दियो। नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै विदेशी निर्णायकको सहभागितामा राष्ट्रिय फिफ्टन्स रग्बी प्रतियोगिता गर्ने जानकारी दिएको हो। यस फिफ्टिन्स प्रतियोगितामा राष्ट्रिय स्तरका क्लबहरू तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब एवं गोर्खाली रग्बी क्लबले चुनौती प्रस्तुत गर्नेछन्। राउन्ड रोबिनको आधारमा खेल सञ्चालन हुने भएको छ।

महासंघका महासचिव गोविन्द घिमिरेले सेभेन्सको तुलनामा फिफ्टिन्स प्राविधिक रूपमा पनि उत्कृष्ट खेलाडीले मात्र प्रतिपस्पर्धा गर्ने भएकाले तीन विभागीय र नेपाली रग्बी इतिहासमा सबैभन्दा पुरानो क्लब गोर्खालीलाई मात्र समावेश गरिएको बताए।

संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरिले पनि यस विधाको खेल खेल्न एक निश्चित उमेरसमूह र लामो समयदेखि अभ्यस्त खेलाडीलाई मात्र सहज हुने भएकाले सीमित प्रतिस्पर्धा तय गरिएको उल्लेख गरे। त्यसैले पनि यस प्रतियोगितामा विदेशी निर्णायक नै झिकाइएको उनको भनाइ थियो। यस प्रतियोगिताको मुख्य निर्णायकमा श्रीलंकाका प्रियान्था गुनारथ्न रहने रग्बी संघले जनाएको छ।

साथै म्याच रेफ्री पनि श्रीलंकाकै सुरंगा अरूणा थालगालागेले भूमिका निर्बाह गर्ने भएका छन्। नेपालका प्रेमबहादुर कोइरालाले प्रतियोगिता खेलाउने संघले उल्लेख गरेको छ। यस प्रतियोगिताका लागि फिफ्टिन्स रग्बी क्लबले गत एक महिनादेखि नै बन्द प्रशिक्षण गरिरहेको संघका महासचिव घिमिरेले जानकारी दिए।

संघले अघिल्लो वर्षदेखि यस प्रतियोगिताको ट्रफीलाई रनिङ शिल्डको रूपमा सञ्चालन गरेको थियो। यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ। गत वर्षको विजेता गोर्खाली रग्बी क्लब हो। सहभागी चारैवटा क्लबलाई तयारी तथा प्रतियोगितामा बिमा र स्वास्थ्य व्यवस्थापनसहित तीन लाखबराबरको रकम प्रदान गरिएको संघले जनाएको छ।

खेलाडीहरूको लागि तीन लाखबराबरको खेल दुर्घटना बिमा पनि गरिएको संघले जनाएको छ। प्रतियोगिताको विजेताले दुई लाख २२ हजार दुई सय २२ रूपैयाँसहित रनिङ सिल्ड पाउनेछ। उपविजेताले भने एक लाख ११ हजार एक सय ११ रूपैयाँसहित पदक प्राप्त गर्ने संघले जनाएको छ।

यस प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५,००० नगदसहित ट्रफी पाउनेछ। म्यान अफ दी म्याचले ट्रफी पाउनेछ। यस प्रतियोगिताबाट राष्ट्रिय टोलीका खेलाडी छनोट गरिने भएको छ। आगामी वर्षको वैशाख २० देखि २२ गतेसम्म नेपालमै हुने नेपाल बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिजको लागि नेपाली टोलीको तयारी गरिने संघले जनाएको छ।

प्रकाशित: २३ चैत्र २०८१ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App