२० चैत्र २०८१ बुधबार
image/svg+xml ५:८ पूर्वाह्न
खेल

आगामी वर्ष प्रचण्डका नाममा भलिबल प्रतियोगिता

अखिल नेपाल खेलकुद महासंघले खेलाडीहरूको बहुप्रतीक्षित दशौं राष्ट्रिय खेलकुद आयोजना प्रभावित नगर्न माग गर्दै आगामी वर्ष प्रचण्ड कप २०८२ राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्ने भएको छ ।

अखिल नेपाल खेलकुद महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले लामो इतिहास बोकेको राष्ट्रिय खेलकुद प्रभावित नगर्न माग गर्दै आफ्ना विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको हो।

गणतन्त्र दिवसको अवसर पारेर प्रचण्ड कप पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता गर्न लागेको महासंघका महासचिव अञ्जन धमलाले जानकारी दिए। प्रचण्ड नेतृत्व सरकारले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले गणतन्त्र दिवसका अवसरमा सोही खेलको प्रतियोगिता आयोजना गर्न लागिएको महासंघका महासचिव अञ्जन धमलाले जानकारी दिए।

‘गणतन्त्र स्थापना र भलिबललाई देशको राष्ट्रिय खेल बनाउन अध्यक्ष प्रचण्डको भूमिका महŒवपूर्ण रहेको सबैलाई थाहा नै छ। तत्कालीन प्रचण्ड सरकारले २०७४ साल जेठ ९ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो। त्यसैले पनि जेठमा नै भलिबल प्रतियोगिता गर्न लागेका हौं,’ अखिल नेपाल खेलकुद महासंघका धमलाले भने,‘यो आयोना बृहत् र विशेष हुन्छ। त्यसबारे थप जानकारी पनि दिनेछौं।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा बसेको महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले महत्त्वपूर्ण ६ वटा निर्णय गरेको थियो। आगामी २०८२ साल मंसिर ८ गते पूर्वजनमुक्ति सेना राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने महासंघले जनाएको छ।

व्यापक र व्यावसायिक खेल, खेलाडीको सम्मान, समाजवादको यात्रामा दोस्रो राष्ट्रिय सम्मेलन भन्ने मूल नाराका साथ महासंघको राष्ट्रिय सम्मेलन सोही वर्षको असार ६ र ७ गते काठमाडौंमा गर्ने निर्णय गरिएको छ। महासंघले योङ ब्रदर्स तेक्वान्दो क्लबसँगको सहकार्य एसियन मार्सल आटर््स गेम्स तथा खेलकुद महोत्सव गर्ने भएको छ।

उक्त मार्सल आटर््स गेम्स आगामी जेठ २ र ३ गते गर्ने गरी महासंघले तयारीसमेत थालेको छ। अध्यक्ष प्रचण्डको नेतृत्व तत्कालीन सरकारले ६० करोड विनियोजन गर्दै गत मंसिरमा नै कर्णाली प्रदेशमा बृहत् दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्ने वातावरण सिर्जना गरेको महासंघले गरेको छ।

पहिलोपल्ट राष्ट्रिय खेलकुद आयोजनाअगावै बजेट सुनिश्चितता हुँदा पनि खेलकुद सञ्चानल हुन नसक्नुले खेलाडीहरू खेल्न पाउने अधिकारबाट वञ्चित भएको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ।

साथै महासंघले तेस्रोपल्ट आयोजना मिति तय भए पनि वर्तमान सरकारले बजेट कटौती गरेको हुँदा अझै अनिश्चितताको बाटोतर्पm देखिएको आरोप लगाएको छ। अखिल नेपाल खेलकुद महासंघले नेपाली खेलकुदका सरोकारावाला निकाय युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबीच देखिएको द्वन्द्वका कारण खेलाडीको मनोबल घट्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि पनि अन्योलपूर्ण अवस्था सिर्जना भइरहेको प्रति चासो व्यक्त गरेको छ। त्यसैलै समयमा नै तीन पक्षले आपासी छलफलबाट समस्या समाधान गर्न महासंघले जोडदार अपिल गरेको छ। अन्योलतापूर्ण वातावरणले समग्र नेपाली खेलकुदको विकास र प्रवर्धनमा नै असर पर्ने भएकाले व्यक्तिगत स्वार्थभन्दा पनि खेलकुदको हित हुने काममा अग्रसर हुन महासंघ सरोकारवालाप्रति आह्वान गरेको छ।

महासंघका अध्यक्ष शिव कोइरालाले नेपाली खेलकुदको विकास, विस्तारसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता दिलाउनका लागि मद्दत पुग्ने गरी काम गर्न सदैव अग्रसर हुने विश्वास व्यक्त गरेको छ। आफ्नो पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड खेलकुदप्रति विशेष चासोसँगै लगानी र प्रवर्धनमा सदैव अग्रसर हुने महासंघले विश्वास व्यक्त गरेको छ।

 खेलकुद महासंघका इन्चार्ज दीपक कोइरालाले परम्परागत शैलीको प्रतिस्पर्धाभन्दा पनि खेलकुदको व्यावसायीकरण गर्दै समग्र नेपाली खेलकुदलाई नै माथि उठाउन देशका सम्पूर्ण नागरिक नै एक हुनुपर्ने आवश्यकता औंल्याएका छन्।  

प्रकाशित: १६ चैत्र २०८१ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App