नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।
लिग चरणको आफ्नो अन्तिम खेलमा बुधबार कोशी प्रदेशमाथि दुई विकेटको रोमाञ्चक जित निकाल्दै एपीएफले ९ खेलबाट १४ अंक बनाएको हो । एपीएफले दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ ।
आर्मीले आफ्नो अन्तिम खेलमा बिहीबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । आर्मी फराकिलो अन्तरमा पराजित भए एपीएफले पुलिससँग फाइनल खेल्नेछ । साँघुरो हारले भने एपीएफले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ । अपराजित रहेको पुलिसले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ ।
लोकेश बमले उल्लेख्य पारी खेलेपछि कोशीले दिएको २५५ रनको लक्ष्य एपीएफले ४४.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । बमले नटआउट रहँदै ५४ बलमा ८४ रनको पारी खेले । क्याप्टेन रोहित पौडेलले ६१ र दीपक बोहोराले ३६ रनको योगदान गरे ।
बलिङमा कोशीका लागि फिर्दोस अन्सारी र दिपेश कँडेलले समान ३ तथा ज्ञानेन्द्र श्रेष्ठले एक विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको कोशीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २५४ रनको योगफल तयार पारेको थियो । कोशीका लागि सकिब हकले ६८, अंकित सुवेदीले ३५, ऐस भट्टराईले ३४ र सुजन थपलियाले ३३ रन बनाएका थिए ।
बलिङमा अभिशेष गौतम र मौसम ढकालले समान ३, रोहित पौडेलले २ तथा इश्राद अहमद र अमर सिंह राउटेलाले समान एक विकेट लिएका थिए ।
बिहीबार मधेश प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ । उक्त खेलले शीर्ष चार भित्र रहने टोलीको टुगो लगाउनेछ ।
प्रकाशित: १३ चैत्र २०८१ १६:१३ बुधबार