नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा स्थान बनाएको छ । आफ्नो आठौं खेलमा मंगलबार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै पुलिसले एक खेल अगावै फाइनलमा स्थान बनाएको हो ।
पुलिसले दिएको १४८ रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १०३ रनमा अलआउट भयो । कर्णालीका लागि रविन्द्र जंग शाहीले ४९ र अर्जुन घर्तीले ३० रन बनाएपनि अन्यको प्रदर्शन उल्लेख्य नहुँदा कर्णाली हार भोग्न बाध्य भयो । बाँकी सबै ब्याटर दोहोरो अंकको स्कोर नगर्दै पवेलियन फर्के ।
पुलिसका लागि ललित राजवंशीले ६ विकेट लिए । मात्र ९ ओभर बलिङ गरेका उनले ४१ रन खर्चेर ५ विकेटको हल पार गरेका हुन् । योसँगै उनी पीएम कपमा सय रन पूरा गर्ने पहिलो बलर पनि बनेका छन् । कर्णालीविरुद्ध सागर ढकालले २ र करण केसीले एक विकेट लिए ।
यसअघि दाङ लमहीको देउखुरी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको पुलिस ४८ ओभरमा १४७ रनमा अलआउट भएको थियो । पुलिसका लागि अर्जुन साउदले ३६, दिलिप नाथले ३४ र सागर ढकालले २२ रन बनाए ।
बलिङमा कर्णालीका लागि अर्जुन कुमार चनाराले ४, दिवन पुनले ३ र दिनेश अधिकारीले एक विकेट लिए ।
पुलिसको ८ खेलबाट १६ अंक भएको छ र शीर्ष स्थानमा छ । कर्णालीले ९ खेलमा ४ जित सहित पाँचौ स्थानमा रहेर प्रतियोगिता समाप्त गरेको छ । लिग चरणको अन्तिम खेलमा आगामी बिहीवार पुलिसले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
फाइनल शनिबार हुनेछ । त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबमध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछ ।
प्रकाशित: १२ चैत्र २०८१ १५:०७ मंगलबार