३१ चैत्र २०८१ आइतबार
image/svg+xml १:९ पूर्वाह्न
खेल

किरणको शतकमा सुदूरपश्चिम विजयी

प्रधानमन्त्री कप क्रिकेट

लुम्बिनीकाे विकेट लिएपछि आर्मीका खेलाडी। तस्वीर: क्यान

किरण ठगुन्नाको शतकमा सुदूरपश्चिम प्रदेशसँगै आइतबार विभागीय टोली एपिएफ र आर्मीले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा जित निकालेका छन्।

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कपमा किरणको शतकप्रेरित सुदूरपश्चिमले कोसीविरुद्ध र एपिएफले गण्डकी प्रदेशलाई समान ३१ रनले हराउँदा आर्मीले लुम्बिनी प्रदेशमाथि १३१ रनको फराकिलो जित निकालेको हो।

आर्मीले आठ खेलबाट सात जित निकाल्दै १४ अंक र एपिएफले सात खेलबाट १० अंक जोडे। आर्मी दोस्रो र एपिएफ तेस्रो स्थानमा छन्। शीर्ष स्थानको पुलिससँग आर्मीले अंक बराबरी गरेको छ। तर, पुलिसले एक खेल कम खेलेको छ। पुलिसँग समान सात खेल खेलेको एपिएफ चार अंकले पछि छ। सुदूरपश्चिमको भने आठ खेलबाट यो तेस्रो जित हो। सुदूरपश्चिम ६ अंक जोड्दै सातौं स्थानमा छ। समान आठ खेलबाट कोसी र गण्डकीको यो सातौं हार हो।

यति नै खेल खेलेको लुम्बिनीले भने चौथो हार सामना गर्‍यो। दाङको देउखुरी क्रिकेट मैदानमा किरणको शतकमा सुदूरपश्चिमले २४३ रनको लक्ष्य दिएको थियो। तर, कोसी ४५.१ ओभरमा २११ रनमा समेटिन पुग्यो। दोस्रो ओभरमै ओपनर सोनु अन्सारीलाई शून्यमा गुमाए पनि कोसीले समालिएर ब्याटिङ ग¥यो। त्यसपछि दोस्रो विकेटका लागि ओपनर सकिब हक र आइस भट्टराईले ८३ रनको साझेदारी गर्दै इनिङ समाले। तर, थप २८ रन जोड्दा कोसीले थप पाँच विकेट गुमाउन पुग्यो र दबाबमा पर्‍यो। सकिबले ६२ रनको योगदान दिए। आइस ३६ रन बनाएर आउट भए। सकिबले ६६ बलमा ११ चौका हिर्काए। आइसको इनिङमा चार चौका रह्यो।

कप्तान अंकित सुवेदी र समीर कार्कीले समान ३८ र दीपेश कँडेलले १४ रन बनाए पनि कोसीलाई जित दिलाउन सकेनन्। सुदूरपश्चिमको बलिङमा सौर्य श्रेष्ठले तीन र भोजराज भट्टले दुई विकेट लिए। शेर मल्ल, नारायण जोशी र राहुल भण्डारीको नाममा समान एक विकेट रह्यो। त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४३.४ ओभरमा २४२ रनमै समेटिन पुग्यो। मध्यक्रमका ब्याटर किरणबाहेक अन्यले ठूलो इनिङ खेल्न सकेनन्। उनले ११५ रनको शतकीय योगदान दिए। जारी प्रधानमन्त्री कपमा उनको यो दोस्रो शतक हो। उनले गण्डकीविरुद्ध पनि शतक प्रहार गरेका थिए।

९१ बल खेलेका किरणले १२ चौका र चार छक्का प्रहार गरे। किरणले सातौं विकेटका लागि नारायणसँग ६७ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। टेक रावतले १६, अर्जुन विकले १५, कप्तान नारायण र शेरले समान १४ रन बनाए। कोसीको बलिङमा ज्ञानेन्द्र श्रेष्ठले चार, फिरदोस अन्सारी र अंकित सुवेदीले समान दुई तथा दीपेश कँडेल र प्रकाश कार्कीले समान एक विकेट लिए।

भैरहवामा एपिएफले गण्डकीलाई हराउँदा आसिफ सेखले उत्कृष्ट ब्याटिङ गरे। एक्ट्राटेक ओभलमा एपिएफले २५९ रनको राम्रो लक्ष्य दिएको थियो। जबाफमा गण्डकीले ५० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै २२७ रन मात्रै बनाउन सक्यो।

मध्यम सुरुआत पाएको गण्डकीका कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन्। अर्जुन कुमालले ३९, दिनेश बुढामगरले ३४, अमृत गुरुङले २३, कप्तान विपिन खत्रीले १४, समीर कँडेल र कमल परियारले समान १३ रन जोड्दा सुदीप अर्याल २५ रनमा अविजित रहे। एपिएफको बलिङमा अभिषेक गौतमले तीन तथा अमरसिंह राउटेलाले दुई विकेट लिए।

 किशोर महतो, भुवन कार्की र कप्तान रोहितकुमार पौडेलको नाममा समान एक विकेट रह्यो। त्यसअघि टस हारेर ब्याटिङ गरेको एपिएफले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २५८ रनको योगफल बनाएको थियो। उत्कृष्ट सुरुआत पाएपछि एपिएफ विशाल लक्ष्यतर्पm अग्रसर थियो।

ओपनरद्वय लोकेश बम र आसिफले पहिलो विकेटका लागि १२५ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। १९.३ ओभरमा नै यी दुईले यो साझेदारी गरेका हुन्। आसिफ ८० रन र लोकेश ४६ रनमा आउट भए। ७४ बलमा आसिफले १० चौका र एक छक्का प्रहार गरे। लोकेशको इनिङमा ५ चौका रह्यो।

सुमित महर्जनले ३१, कमलसिंह ऐरीले २५, अमरसिंहले २४, भुवन कार्कीले १५ र दीपक बोहराले ११ रन बनाएपछि एपिएफले राम्रो योगफल खडा गरेको हो। तर, कप्तान रोहित पौडेल ७ रन र सन्दीप ३ रनमा नै आउट भए। गण्डकीको बलिङमा सन्दीप पराजुली र सुदीप अर्यालले समान तीन विकेट लिँदा कमल परियारले दुई तथा चन्द्र पौडेलले एक विकेट निकाले।

आर्मीले घरेलु टोली लुम्बिनीलाई हराउँदा बसिर अहमदले अर्धशतकसँगै अलराउन्ड प्रदर्शन गरे। सिद्धार्थ क्रिकेट मैदानमा आर्मीले २४४ रनको लक्ष्य दिएको थियो। तर, लुम्बिनीलाई २७.१ ओभरमा ११२ रनमा नै समेट्दै आर्मीले सहज जित निकाल्यो।

साहब आलमसँगै सबै बलरले साथ पाएपछि आर्मीले सातौं जित निकालेको हो। खराब सुरुआत गरेको लुम्बिनीका लागि कप्तान देव खनालले ३७, मनीष थापा र बिप्रसन केसीले समान १३, नर सार्कीले १२ र निर्मल गुरुङले १० रन बनाए।

आर्मीको बलिङमा साहबले चार विकेट तथा नरेन साउदले दुई, सोमपाल कामी, आकाश चन्द र बसिर अहमदले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको आर्मी ४९.२ ओभरमा २४३ रनको योगफलमा रोकिएको थियो।

बसिरले ८६ रन जोड्दा भीम सार्कीले ४४, तृतराज दासले ३१, सोमपालले २८, कुशल मल्लले १७ र इमरान खानले १२ रन बनाए। चौथो विकेटका लागि बसिर र भीमले ८१ रनको साझेदारी गरेका थिए। १०४ बलमा बसिरले ६ चौका प्रहार गरे। लुम्बिनीको बलिङमा अजय चौहानले चार तथा कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, नर सार्की र देव खनालले समान एक विकेट लिए।

प्रकाशित: ११ चैत्र २०८१ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App