स्पिनर सूर्य तामाङको उत्कृष्ट प्रदर्शन प्रेरणामा बागमती प्रदेशले प्रधानमन्त्री पुरुष एकदिवसीय क्रिकेटमा शनिबार शानदार जित निकालेको छ।
घरेलु क्रिकेटमा स्पिनर सूर्यले उत्कृष्ट बलिङ गर्दै आए पनि लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कपमा भने उनी त्यति प्रभावशाली देखिएका थिएनन्। तर, दाङमा शनिबार कोसी प्रदेशविरुद्ध भने सूर्यले आफ्नो लय फर्काउँदा बागमतीले १३१ रनको फराकिलो जित निकाल्न सफल भयो।
यो खेलमा सूर्यले पाँच विकेट लिँदै किफायती बलिङ पनि गरे। उनले ९ ओभरमा दुई मेडन राख्दै २७ रन मात्र खर्चिए। ब्याटिङमा १७ रन बनाएका उनी प्लेअर अफ दी म्याच पनि भए। यस प्रधानमन्त्री कपमा खासै राम्रो प्रदर्शन गर्न नसकेको बागमतीको यो तेस्रो जित हो। सात खेलबाट ६ अंक जोड्दै बागमती छैटौं स्थानमा उक्लिएको छ।
कोसीको भने यो छैटौं हार हो। समान खेलबाट कोसी दुई अंकसहित पुछारमा छ। देउखुरी क्रिकेट मैदानमा बागमतीले २४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। बागमतीका कुनै पनि ब्याटर अर्धशतक बनाउन सकेका थिएनन्। तर, सबैले ससाना योगदान दिँदा बागमतीले कमजोर ब्याटिङ सामना गर्दै आएको कोसीसामु राम्रो योगफल बनाएको हो।
जबाफमा ब्याटिङ गरेको कोसी २५.३ ओभरमा १०९ रनमै समेटियो। बागमतीका स्पिनर जोडी सूर्य र साकार गजुरेलले नै संयुक्त सात विकेट लिँदै कोसीलाई सस्तैमा अलआउट गरेका हुन्। कोसीका अइस भट्टराईले ३७ रन बनाए। उनले ४९ बलमा पाँच चौका हिर्काए।
यो नै कोसीका लागि सर्वाधिक ठूलो योगफल रह्यो। सुजन थपलियाले २५ र फिरदोस अन्सारीले २४ रन जोडे। कोसीका पाँच ब्याटरले खाता नै खोल्न सकेनन्। बागमतीको बलिङमा रिजन ढकालले तीन र साकारले दुई विकेट लिँदै सूर्यलाई साथ दिए।
बागमतीले पाँच बलर प्रयोग गर्दा सबै किफायती साबित भए। त्यसअघि टस जितेर ब्याटिङ गरेको बागमती पनि ४९.३ ओभरमा २४० रनमा नै अलआउट भएको थियो। बागमतीका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन्। तल्लो क्रमका ब्याटरले पनि ससाना योगफल दिँदा बागमतीले राम्रो योगफल बनाएको हो। पहिलो विकेटका लागि बागमतीले ६२ रनको साझेदारी गरेको थियो।
१३.४ ओभर नै ओपनर आशुतोष घिरैया र ईशान पाण्डेले यो साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका हुन्। आशुतोष पाँच चौकासहित २९ रनमा र ईशान तीन चौकासहित २५ रनमा आउट भए। त्यसपछि आएका शुभ कंसाकारले ३९ रनको योगदान दिए। त्यो नै सर्वाधिक ठूलो योगफल रह्यो। उनले २८ बलमा ६ चौका र एक छक्का हिर्काए। विपिन आचार्यले २५, सोनु देवकोटा १८, गौतम केसी १६ रनमा आउट हुँदा रिजन ढकाल २२ रनमा नटआउट रहे।
कोसीको बलिङमा सुजन थपलिया र प्रकाश कार्कीले समान दुई विकेट लिए। ज्ञानेन्द्र श्रेष्ठ, दीपेश कँडेल र फिरदोस अन्सारीको नाममा समान एक विकेट रह्यो। बागमतीले दुई विकेट रनआउटका रूपमा गुमाएको हो।
प्रकाशित: १० चैत्र २०८१ ०९:२० आइतबार