युवा फरवार्ड सुवास बम ठकुरी, गोलकिपर अन्जल श्रेष्ठ र डिफेन्डर सुमन श्रेष्ठ गरी तीन नयाँ अनुहार समेट्दै सोमबार नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ।
आगामी मार्च २१ गते सिंगापुरविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मार्च २५ मा मलेसियाविरुद्ध हुने एएफसी एसियन कप छनोटका लागि नेपाली टोली घोषणा भएको हो। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले तीन नयाँ खेलाडीसहित २३ सदस्यीय टोली घोषणा गरेका हुन्। उनको प्रशिक्षणमा नेपालले यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्दै छ।
अधिकांश खेलाडी विदेश पलायन भएकाले नयाँ खेलाडीले अवसर पाउने उनले यसअघि उल्लेख गर्दै आएका थिए। उनले विदेश गएका खेलाडीका लागि ढोका सदैव खुला रहेको प्रतिक्रिया दिएका थिए। तर, सोमबार टोली घोषणा हुँदा उनले युवा खेलाडीलाई प्राथमिकतामा राखेका छन्। सुवासले उमेरसमूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका थिए। अन्य खेलाडीमा सुमन भने विभागीय टोली एपिएफ क्लबका हुन्। गोलकिपर अन्जल श्रेष्ठले एनआरटीबाट खेल्दै आएका छन्।
फरवार्ड रेजिन सुब्बा र मिडफिल्डर कृतीशरत्न छुन्जुले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की, अन्जल श्रेष्ठ, डिफेन्डरहरूमा अनन्त तामाङ, विमल पाण्डे, सनिस श्रेष्ठ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बू, सुमन श्रेष्ठ, मिडफिल्डरमा रोहित चन्द ठकुरी, लाकेन लिम्बू, रोहन कार्की, मणिकुमार लामा, भरत खवास, एरिक विष्ट, मनीष डाँगी, कृतीशरत्न छुन्जु, आयुश घलान तथा फरवार्डमा सुवास र रेजिनसँगै जिलेस्पीजंग कार्की र अञ्जन विष्ट छन्।
प्रकाशित: ५ चैत्र २०८१ ०८:२४ मंगलबार