५ चैत्र २०८१ मंगलबार
image/svg+xml १२:५९ अपराह्न
खेल

१७औं धर्मश्री शारीरिक सुगठनको तयारी पूरा

नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा हुने १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। आगामी चैत ७ देखि ९ गतेसम्म तीनदिने प्रतियोगिता हुँदै छ। आयोजकले सोमबार होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। 

१७औं धर्मश्री, प्रथम पिएल सिंह मेन्स स्पोर्ट्स फिजिक्स १७० सेमी ओभर/अन्डर, प्रथम विमेन्स बडी बिल्डिङ ओपन र ५० वर्षमाथिका मास्टर खुला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो। चैत ७ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न ६ तौलसमूह विभाजन गरिएको छ।

प्रतियोगितामा ६०, ६५, ७०, ७५, ८० र ८० किलोभन्दा माथिका तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने आयोजकले बताएको छ। जसमध्ये प्रत्येक तौसमूहबाट अन्तिम चरणका लागि ६ जना खेलाडी छनोट हुनेछन्। प्रत्येक तौलसमूहको विजेताबीच ओभरअलमा मिस्टर धर्मश्रीका लागि प्रतिस्पर्धा गराइनेछ। जसका विजेताले ११ किलो वजन रहेको ट्रफीसहित नगद १२ लाख प्राप्त गर्नेछन्। दोस्रो हुनेले ६ लाख, तेस्रो हुनेले ३ लाख, चौथो हुनेले २ लाख, पाँचौं हुनेले १ लाख ८० हजार र छैटौं हुनेले १ लाख ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्।

त्यसै गरी तौलसमूहमा दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौं हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १५ हजार प्राप्त गर्ने अध्यक्ष प्रधानले बताए। त्यसै गरी मेन्स एथलेटिक फिजिक ओभर र अन्डर तथा विमेन्स बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख नगद पाउनेछन्। तेस्रोले ७० हजार, चौथोले ५० हजार, पाँचौँले ४० हजार तथा छैटौंले ३० हजार प्राप्त गर्नेछन्। 

५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार हात पार्नेछन्। यस पटक सबै विधाका शीर्ष ६ सम्म बन्ने खेलाडीलाई नगद पुरस्कार राशिको व्यवस्था गरिएको आयोजकले जनाएको छ। यस पटक मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको नाममा पिएल सिंह मेन्स फिजिक प्रतियोगिता नाम राखिएको छ। १७औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको छ।

चैतको ७ गते वेइङ, चैत ८ गते प्रि–जजिङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए। नेपालको शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवनको आहूति दिने अमर सहिद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ सालदेखि यो प्रतियोगिता आयोजना हुदै आएको नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए।

अध्यक्ष प्रधानले व्यक्तिगत विधामा यो नेपालकै सर्वाधिक धनराशि पुरस्कार प्रतियोगिता भएको बताए। उनले धर्मश्री प्रतियोगितालाई सहिदको नाममा नेपालकै पहिलो खेल प्रतियोगितासमेत भएको बताए। २०७९ मा भएको १६औं संस्करणमा उमेश राईले धर्मश्री उपाधि जितेका थिए ।

प्रकाशित: ५ चैत्र २०८१ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App