त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा अपराजित यात्रालाई पाँचौ खेलसम्म पुर्याएको छ।
विभागीय डर्बीमा सोमबार उसले नेपाल एपीएफ क्लबलाई तीन विकेटले पराजित गर्यो। एपीएफले दिएको १४२ रनको मध्यम लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर भेट्टायो। आर्मीको जितमा नटआउट रहँदै कुशल मल्लले ३१ र सोमपाल कामीले २२ रन बनाए।
८७ रन जोड्दा ७ विकेट गुमाएको स्थिति सम्हाल्दै कुशल र सोमपालले आठौं विकेटका लागि नटआउट ५८ रनको साझेदारी गरेपछि आर्मी पाँचौ जित निकाल्न सफल भयो।
एपीएफका लागि कप्तान रोहित पौडेल, कमलसिंह ऐरी र अमरसिंह राउटेलाले समान २ तथा किशोर महतोले १ विकेट लिए।
यसअघि भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४२.३ ओभरमा १४१ रन बनाउँदै अलआउट भयो। एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ६५ रन जोडे।
आर्मीका लागि आकाश चन्दले ४, सोमपाल कामीले ३, शाहब आलमले २ तथा बसिर अहमदले १ विकेट लिए।
अपराजित रहेको आर्मीको ५ खेलबाट १० अङ्क भएको छ। यद्यपि रनरेटका आधारमा आर्मी पुलिसभन्दा एक स्थान तल दोस्रोमा छ। हारपछि एपीएफ ५ मध्ये ३ खेलमा जित हासिल गरेर अङ्क तालिकाको चौथो स्थानमा झरेको छ।
प्रकाशित: ४ चैत्र २०८१ १६:३९ सोमबार





