४ चैत्र २०८१ सोमबार
image/svg+xml १०:४५ पूर्वाह्न
खेल

राष्ट्रिय महिला कबड्डी: विभागीय टोली हाबी

गण्डकी प्रदेशविरूद्ध मधेश प्रदेशका खेलाडी रेड गर्ने प्रयासमा।

तीन वटै विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफका साथै सुदूरपश्चिम प्रदेश राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको २०औं संस्करणको सेमिफाइनलमा पुगेका छन्।

समूह ‘ए’ बाट आर्मी र पुलिस तथा समूह ‘बी’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेशले प्रतियोगिताको सेमिफाइनलमा यात्रा पक्का गरेका हुन्। अब सेमिफाइनलमा आर्मीले सुदूरपश्चिम र पुलिसले एपिएफसँग प्रतिस्पर्धा गर्नेछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा दुवै समूहबाट समान पाँच टोलीको चुनौती रह्यो। समूह ‘ए’ मा आर्मी र पुलिसले समान तीन जित निकाले। चार खेलमध्ये पुलिसले आर्मीसँग एक हार सामना गर्‍यो। शनिबार आर्मीले पहिलो खेलमा कोसी प्रदेशलाई ७३–१३ र दोस्रो खेलमा कर्णाली प्रदेशलाई ५२–१२ अंकले हरायो।

आर्मीका लागि पहिलो खेलमा गंगा घिमिरे र दोस्रो खेलमा नानुमाया पराजुली प्लेअर अफ द म्याच घोषित भए। पुलिसले पनि पहिलो खेलमा कर्णालीलाई ३६–२२ र दोस्रो खेलमा गण्डकी प्रदेशलाई ३६–१६ अंकले हरायो। यी दुवै खेलमा पुलिसकी मानमती बिष्ट प्लेअर अफ दी म्याच भइन्।

शुक्रबार कोसीमाथि जित निकाल्दा पनि मानमति नै उत्कृष्ट भएकी थिइन्। यस समूहमा पहिलो दिन कर्णालीले दुई जित निकाल्दै सुखद सुरुआत गरेको थियो। तर, शनिबार दुई खेल गुमाएपछि सेमिफाइनल सम्भावना समाप्त भएको हो। समूह ‘बी’ मा पनि एपिएफले तीन जित निकाल्यो। एपिएफले पहिलो खेलमा बागमतीलाई ३६–१६ र दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई ४३–१५ अंकले हरायो।

एपिएफको पहिलो जितमा रबिना चौधरी र दोस्रो जितमा आसिका कुँवरले उत्कृष्ट प्रदर्शन गरे। दुवै प्लेअर अफ दी म्याच पनि भए। एपिएफले पहिलो दिन सुदूरपश्चिम प्रदेशलाई पनि हराएको थियो। यसै समूहबाट शनिबार सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनीलाई ४३–३८ र दोस्रो खेलमा मधेस प्रदेशलाई २४–१२ अंकले हराए।

सुदूरपश्चिमको दुई जितमा क्रमशः श्रृजना धानुक र मनीषा जोशी प्लेअर अफ दी म्याच भए। शुक्रबार पनि सुदूरपश्चिमले बागमतीलाई हराउँदा एपिएफसँग भने नतिजा सुम्पिएको थियो। यससँगै तेस्रो जित निकालेको सुदूरपश्चिमले पनि सेमिफाइनलमा स्थान बनाएको हो।

आइतबार लिगचरणका दुई खेलसँगै सेमिफाइनल र उपाधि भिडन्त पनि हुने अखिल नेपाल कबड्डी संघका महासचिव अरबिन्द झाले जानकारी दिए। शनिबारका अन्य खेलमा बागमतीले मधेसलाई ४१–१५ र गण्डकीले कोसी प्रदेशलाई ३७–३३ अंकले हराए। समूह ‘ए’ मा नेपाल आर्मी, नेपाल पुलिस, कोसी, कर्णाली र गण्डकी प्रदेश छन्।

अर्को समूह ‘बी’ मा एपिएफ, सुदूरपश्चिम, बागमती, लुम्बिनी र मधेश प्रदेशले प्रतिस्पर्धा गरेका हुन्। विजेताले दुई लाख, उपविजेताले एक लाख तथा सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ५० हजार रूपैयाँ पाउनेछन्। उत्कृष्ट रेडर र डिफेन्डरले ४० इन्चको टिभी पाउनेछन्। यस प्रतियोगिताबाट जुनमा हुने विश्वकपका लागि खेलाडी छनोट गरिने भएको छ।

प्रकाशित: ३ चैत्र २०८१ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App