११ चैत्र २०८१ सोमबार
image/svg+xml
खेल

हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर

विमन्स डे ट्वान्टी-२० क्रिकेट

नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपालकी कप्तान इन्दु बर्मा। तस्बिर: क्यान

खराब ब्याटिङ सामना गरिरहेको नेपालको युगान्डामा जारी विमन्स डे ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो हारसँगै फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ।

इन्टेब्बेमा नेपाल बुधबार नामिबियासँग २३ रनले पराजित हुँदा शृंखलामा तेस्रो हार सामना गर्न बाध्य भयो। यससँगै चार राष्ट्र सम्मिलित शृंखलाका चार खेलबाट एक जित र तीन हार सामना गर्दै नेपालले दुई अंक मात्र जोडेको छ। उपाधि जित्ने लक्ष्यसहित युगान्डा पुगेको नेपाल दोस्रोपल्ट पनि नामिबियासँग हार बेहोर्न बाध्य भयो। यसअघि उद्घाटन खेलमा नेपाल नामिबियासँग नै डिएलएस नियमका आधारमा ६ विकेटको पराजित भएको थियो।

तर, नेपालले दोस्रो खेलमा घरेलु टोलीलाई हराउँदै शृंखलामा फर्कने लक्ष्य देखाए पनि सफल हुन सकेन। त्यसपछि तेस्रो खेलमा हङकङसँग २ रन र फेरि नामिबियासँग पनि पराजित भएको हो। नामिबिया दोस्रो जितसहित चार खेलबाट चार अंक जोड्दै शीर्षमा छ। तर, नामिबियाले हङकङसँग चार विकेट र युगान्डासँग एक रनको पराजय बेहोरेको थियो। नेपालविरुद्ध जित निकाल्दै नामिबियाले शीर्ष दुई स्थानको सम्भावना बलियो बनाएको छ। अब नेपालले बिहीबार युगान्डासँग र शुक्रबार हङकङसँग खेल्दै छ। शीर्ष दुईमा स्थान बनाउन नेपालले दुवै खेलमा जितसँगै अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ।

नामिबियाले १२६ रनको लक्ष्य दिएको थियो। जबाफी लक्ष्य पछ्याएको नेपालले पूरै ओभर ब्याटिङ गरे पनि पाँच विकेटको क्षतिमा १०२ रन मात्रै बनाउन सक्यो। अनुभवी ब्याटरहरूले अनुशासित ब्याटिङ गर्न नसक्दा नेपालले फेरि हार बेहोर्‍यो। यद्यपि, यु–१९ टोलीका सदस्य सना प्रबिनले समालिएर खेल्ने प्रयास गरिन्।

सुस्त ब्याटिङ सुरुआत गरेको नेपालले तेस्रो ओभरमा नै ओपनर सम्झना खड्कालाई २ रनमा गुमायो। २.३ ओभरमा नेपाल ७/१ को अवस्थामा थियो। यु–१९ टोलीकै कप्तान पूजा महतोले पनि उनलाई साथ दिने प्रयास गरिन्। ओपनर सना र पूजाबीच २६ रनको साझेदारी बन्यो।

सातौं ओभरमा पूजा १५ रनमा साइमा तुवादेलेनीद्वारा आउट हुन पुगिन्। त्यसपछि सना ३१ रनमा र कप्तान इन्दु बर्मा १५ रनमा आउट हुँदा कविता कुँवर १७ रनमा अविजित रहिन्। ३७ बल खेलेकी सनाले एक चौका मात्र हिर्काइन्। पूर्वकप्तान रुबिना क्षेत्री ७ रनमा नै पेभेलियन फर्किइन्। यससँगै रुबिनाले पछिल्ला पाँचवटा अन्तर्राष्ट्रिय खेलबाट १० रन पनि कटाउन सकिनन्। उनले यी खेलबाट कुल १८ रन मात्र जोडेकी छन्। उनीसँगै अनुभवी ब्याटर सम्झना खड्का र कप्तान इन्दु चल्न नसक्दा नेपाली टोलीले जित निकाल्न सकेको छैन।

पछिल्ला तीन खेलमा सम्झना दोहोरो अंकको रन जोड्न असफल छिन्। अनुभवी र आशा गरिएका ब्याटर चल्न नसक्दा फेरि नेपाली टोलीले नामिबियासँग हार बेहोरेको हो। नामिबियाको बलिङमा इभिलिन केजारुकुवाले दुई तथा विल्का एमवाटीले, साइमा र मेकेले एमवाटीले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पारेको थियो। नामिबियाका लागि यास्मिन खानले ४५ रन जोड्दै आफ्नो टोलीलाई राम्रो स्थितिमा पुर्‍याइन्। उनले ४४ बलमा पाँच चौका हिर्काइन्।

विल्काले २० रन र सुने विटम्यानले १५ रन जोड्दा जुरियन डियगार्ट १६ रनमा अविजित रहिन्। नेपालको बलिङमा ईश्वरी विष्टले तीन, रचनाकुमारी चौधरीले दुई तथा रिया शर्मा र इन्दु बर्माले समान एक विकेट लिए। यद्यपि, ईश्वरीले चार ओभरमा ४० रन खर्चदै महँगो साबित भइन्। रचनाले भने चार ओभरमा एक मेडन राख्दै ९ रन मात्रै दिइन्। ६ बलर प्रयोग गरेको नेपालका लागि पूजा र रुबिना भने विकेटविहीन रहे। 

प्रकाशित: २९ फाल्गुन २०८१ ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App