नेपाली यु–१९ टोलीका खेलाडी बाहुल्य रहेको च्यासल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको उद्घाटन खेलमा बराबरीको नतिजा सामना गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको उद्घाटन खेलमा यु–१९ टोलीका स्टारले भरिएको च्यासल वीरगन्ज युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो। दुवै टोलीबाट धेरै अवसर सिर्जना गरे पनि गोल सम्भव नभएपछि अंक बाँडेका हुन्। च्यासलबाट कुशल देउवा, दीपक थापामगर, सीमान्त थापा, लक्ष्यु थापा, नीरज कार्की र अश्विन घोरासाइनी उमेरसमूहका स्टार खेलाडी खेलिरहेका छन्। यद्यपि, यो टोलीले जित भने निकाल्न सकेन। च्यासल ‘ए’ डिभिजनबाट घटुवा भएको टोली हो। चार वर्षअघिको ‘बी’ डिभिजन लिग वीरगन्जले नवौं स्थानमा रहँदै समाप्त गरेको थियो।
सिंगल राउन्ड रोबिनमा भएको उक्त लिगमा वीरगन्जले १३ खेलमा चार जित, चार बराबरी र पाँच हारसहित १६ अंक जोडेको थियो। च्यासल भने सोही साल पुछारमा रहँदै शीर्ष डिभिजनबाट घटुवा भएको टोली हो।
च्यासलले शीर्ष डिभिजनका १३ खेलमा एक जित, तीन बराबरी र नौ हारसहित ६ अंक मात्रै बटुलेको थियो। त्यति बेला च्यासलसँगै बिग्रेड ब्वाइज क्लब पनि ‘बी’ डिभिजनमा घटुवा भएको थियो। बिग्रेड ब्वाइजले भने फागुन २६ गते श्री कुमारी क्लबलाई चुनौती पेस गर्नेछ। उक्त खेल अपराह्न ३ः३० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको लिगमा च्यासल, वीरगन्ज, बिग्रेड ब्वाइज र श्री कुमारीसहित १४ क्लबको सहभागी छन्। शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई टोली ‘सी’ डिभिजन घटुवा हुनेछन्। करिब चार वर्षअघि भएको लिगको शीर्ष स्थानमा रहँदै चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार शीर्ष डिभिजनमा बढुवा भएका थिए।
चर्च ब्वाइज शीर्ष डिभिजनमा बढुवा भएको वर्ष नै लिग च्याम्पियन बन्दा खुमलटार भने रेलिगेसनमा पर्दै ‘बी’ मा फर्किएको थियो। यद्यपि, दुवै श्रेणीका लिग समयमै हुन सकेनन्। तर, एन्फाले शीर्ष डिभिजनलाई अनिश्चिततामा राखे पनि दोस्रो डिभिजनको लिग भने सञ्चालन गरेको हो।
प्रकाशित: २६ फाल्गुन २०८१ ०८:०४ सोमबार