विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ विराट गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको मंगलबार भएको खेलमा भारतको सुदेभा दिल्लीलाई ट्राइबेकर ५–३ गोलले पराजित गर्दै एपिएफ क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
टाइबेकरमा एपिएफको तर्फबाट सुमन श्रेष्ठ, दीपेश धिमाल, मणिकुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरे। यस्तै दिल्लीका तर्फबाट राहिफ, पिसि र उदितले मात्र गोल गर्न सफल भएका थिए। खेलको प्लेयर अफ द म्याच एपिएफका अञ्जल श्रेष्ठलाई ११ हजार रुपैयाँ नगद प्रदान गरियो।
आज (बुधबार) हुने पहिलो क्वाटरफानलमा रिजालको मोरङ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच साँझ ६ः३० बजे हुने छ। प्रतियोगितामा भारतका दुई र नेपालका विभागीय टिमसहित १० वटा टिम सहभागी छन्।
प्रतियोगिताको विजेतालाई नगद ११ लाख रुपैयाँ, उपविजेतालाई पाँच लाख रुपैयाँ, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। रासस
प्रकाशित: २१ फाल्गुन २०८१ ०६:४७ बुधबार





