नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले काठमाडौंको सुरक्षित निर्वाचन क्षेत्र छाडेर सर्लाही–४ रोज्नुको मुख्य कारण पहाड र मधेशको भावनालाई जोड्नु रहेको बताएका छन्।
शनिबार काठमाडौंमा बसोबास गर्ने सर्लाहीका मतदाता तथा शुभेच्छुकहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन्।
सम्बोधनका क्रममा थापाले काठमाडौं क्षेत्र नं-४ बाट चुनाव लड्न सहज हुँदाहुँदै पनि आफूले चुनौतीपूर्ण बाटो रोजेको प्रष्ट पारे।
‘काठमाडौं- ४ मेरो लागि सहज थियो, तर मलाई लाग्यो एउटा पहाडमा जन्मेको मान्छेले मधेशको प्रतिनिधित्व गरेर मधेशको दुख र मुद्दालाई सिंहदरबारमा स्थापित गर्न सक्छ भन्ने प्रमाणित गर्नुछ,’ थापाले भने, ‘म सर्लाहीमा चुनाव जित्न वा शासन गर्न गएको होइन, त्यहाँका जनताको मन जित्न र सेवा गर्न गएको हुँ।’
उनले आफू टुरिस्ट उम्मेदवार नभई सर्लाहीको सुखदुःखको साथी बन्न चाहेको जिकिर गरे। ‘अबको ५ वर्ष म सर्लाहीको धुलोमैलोमा काम गरेर प्रमाणित गर्नेछु कि पहाडको छोरो पनि मधेशको सच्चा जनप्रतिनिधि बन्न सक्छ,’ उनले थपे।
सभापति थापाले विगतमा पार्टी र नेतृत्वबाट केही गल्ती कमजोरी भएको स्वीकार गर्दै अब कांग्रेस सच्चिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
‘हिजो हामीबाट केही कमजोरी भए, त्यसलाई हामी लुकाउँदैनौँ। ती गल्तीहरू स्वीकार गर्दै, त्यसलाई सच्याएर अब नयाँ संकल्पका साथ अघि बढ्छौँ,’ थापाले भने। उनले कांग्रेस अब केवल सत्ताको लागि नभई देशको समस्या समाधानको नेतृत्व लिन उभिने बताए।
उनले देशमा व्याप्त निराशा चिर्न र युवाहरूलाई स्वदेशमै भविष्य देखाउन कांग्रेसले रूपान्तरणको बाटो रोजेको दाबी गरे। ‘आलोचना र घृणाको राजनीतिले देश बन्दैन, अब सबैलाई मिलाएर लैजाने स्टेट्सम्यान सीप चाहिएको छ, जुन कांग्रेसले मात्र गर्न सक्छ,’ उनले भने।
प्रकाशित: २४ माघ २०८२ १५:५३ शनिबार





