नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने तर हरेक व्यक्तिको व्यक्तिगत इमान्दारिताको जिम्मा आफूले लिन नसक्ने बताएका छन्।
शनिबार झापामा चुनावी घरदैलो अभियानका क्रममा एक स्थानीय मतदाताको प्रश्नको सामना गर्दै पूर्वप्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्।
स्थानीय मतदाता मोहनबाबु शेर्माले विगतको सरकारको पालामा भएका भ्रष्टाचार र नेताहरूको घरमा पैसा जलेको भनिएको घटनाबारे प्रश्न गर्दा ओलीले आफू भ्रष्टाचार निवारणमा प्रतिबद्ध रहे पनि अरूको नियतको जमानी बस्न नसक्ने प्रष्ट पारे।
ओलीले भने, ‘मैले थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न। तर, सबैको इमान्दारिताको ठेक्का मैले लिन सक्दिनँ। कसले कहाँ के ठेक्का लिएको छ, कसले कोठाभित्र के लुकाउँछ, अर्काले के गर्छ, त्यो मलाई सबै थाहा हुँदैन।’
उनले आफूलाई जानकारी भएमा र देखेका बखत कारबाही गर्ने तर लुकेर गरिने बदमासीको भागीदार आफू हुन नसक्ने तर्क गरे। ‘मैले थाहा पाएका बेला कारबाही गर्ने हो,’ उनले थपे।
मतदाताले ‘फेरि प्रधानमन्त्री भए ती घटनाको अनुसन्धान गर्नुहुन्छ कि हुन्न ?’ भनी सोधेको प्रश्नमा अध्यक्ष ओलीले प्रमाण भेटिए कारबाही गर्ने प्रतिबद्धता जनाए।
उनले भने, ‘हामी अनुसन्धान गर्छौं, प्रमाणित रूपमा भ्रष्टाचार भएको देखियो भने कारबाही गर्छौं।’
यद्यपि, सोही क्रममा ओलीले नेताहरूको घरबाट पैसाको बिटा जलेको भनिएको भिडियो र तस्बिरहरू भने ‘एआई’ प्रविधि प्रयोग गरेर बनाइएको नक्कली सामग्री भएको दाबीसमेत गरे।
प्रकाशित: २४ माघ २०८२ १६:४४ शनिबार





