नेपाली कांग्रेसका सभापति गगन थापाले आफू सर्लाही क्षेत्र नं-४ मा टुरिस्ट उम्मेदवारका रूपमा नभई त्यहाँका जनताको सुखदुःखको साथी बन्न गएको बताएका छन्।
शनिबार काठमाडौंमा बसोबास गर्ने सर्लाहीका मतदाताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन्।
आफ्नो गृह क्षेत्र काठमाडौं-४ को सुरक्षित जित छाडेर सर्लाही रोज्नुको कारण प्रष्ट पार्दै थापाले भने, ‘मलाई धेरैले सोध्छन्, जित्ने ठाउँ छाडेर किन जोखिम लिनुभयो ? मेरो उत्तर स्पष्ट छ, म केवल चुनाव जित्न गएको होइन, पहाड र मधेशको भावना जोड्न गएको हुँ।’
उनले आफूलाई विपक्षीले टुरिस्ट भनेर आलोचना गर्न सक्ने भन्दै त्यसको कडा प्रतिवाद गरे। ‘म घुम्न आएको पर्यटक होइन। म सर्लाहीको माटोमा काम गरेर, त्यहाँको विकास गरेर र तपाईंहरूको आँसु पुछेर तपाईंहरूकै छोरा बन्न आएको हुँ,‘ थापाले भने।
थापाले सर्लाहीबाट काठमाडौं आउने नागरिकहरूले भोग्नुपर्ने समस्या आफूले बुझेको भन्दै काठमाडौंमा उनीहरूका लागि सम्पर्क कार्यालय खोल्ने घोषणा गरे।
‘सर्लाहीबाट उपचार गर्न, पढ्न वा रोजगारीका लागि काठमाडौं आउँदा तपाईंहरूले आफूलाई एक्लो महसुस गर्नुपर्दैन,’ थापाले प्रतिबद्धता जनाउँदै भने, ‘यहाँ आउँदा तपाईंको बस्ने ठाउँ होस् वा अस्पतालको शय्या मिलाउने काम, म एउटा अभिभावक जस्तै भएर तपाईंहरूको साथमा उभिनेछु।’
उनले सर्लाही-४ मा पनि २४ सै घण्टा खुल्ने गरी सांसदको कार्यालय सञ्चालन गर्ने बताए।
सभापति थापाले सर्लाहीको शिक्षा, स्वास्थ्य, सिँचाइ र सडक पूर्वाधारको अवस्था आफूले नजिकबाट देखेको भन्दै अबको ५ वर्षमा त्यसको मुहार फेर्ने संकल्प लिएको बताए।
‘म भाषण गर्न होइन, काम गर्न आएको हुँ। तपाईंहरूले मलाई नेता होइन, आफ्नो परिवारको सदस्य ठानेर विश्वास गर्नुहोस्,’ उनले भने।
उनले पहाडमा जन्मेको व्यक्तिले पनि मधेशको सच्चा प्रतिनिधित्व गर्न सक्छ भन्ने उदाहरण स्थापित गर्न आफू सर्लाही झरेको जिकिर गरे।
प्रकाशित: २४ माघ २०८२ १६:०३ शनिबार





