३ चैत्र २०८१ आइतबार
image/svg+xml २३:३३ अपराह्न
खेल

नेपालले ठूला प्रतियोगिता खेलेको हेर्ने बुफोनको इच्छा

इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोनले नेपाल एसियन कप, विश्वकप र अन्य विश्व फुटबलको ठूला प्रतियोगिता खेलेको हेर्न चाहेको बताएका छन्।

आइतबार काठमाडौंको हायात रिजेन्सी होटलमा आयोजित पत्रकार सम्मेलनमा बुफोनले विश्व फुटबलका ठूला प्रतियोगिता खेल्न नेपालले संरचना निर्माण र अन्य कुरामा लगानी गर्नुपर्ने बताएका छन्। ठूलो लक्ष्य लिएर फुटबल खेल्न प्रोत्साहित गरे एक दिन पूरा हुने उनको भनाइ छ। बुफोन सन् २००६ को विश्वकप विजेता इटालीका गोलकिपर हुन्। उनै बुफोन आइतबार नेपाल आए। उनले आफू सानै छँदा पनि नेपालको झन्डा नयाँ र नौलो लाग्ने गरेको स्मरण गर्दै हिमालहरूको देश नेपाल आउने आफ्नो सपना पूरा भएको बताए।

नेपाल आउँदा निकै उत्साहित र खुसी रहेको उल्लेख गर्दै यो अवसरका लागि आयोजकलाई धन्यवाद पनि दिए। उनी केपी ओली कपको फाइनलका लागि नेपाल आएका हुन्। उनले आजको दिन आफू र आफ्नी श्रीमतीका लागि अवस्मरणीय रहेको बताए। आफू सधैं कामप्रति माया गर्ने र हरेक दिन आफ्नो उत्कृष्ट दिनका लागि कडा मिहिनेत गर्ने भएकाले फिटनेस राम्रो हुन सकेको उनले अनुभव सुनाएका छन्।

अहिले आफू केपी ओली कपको फाइनलका लागि आए पनि फेरि नेपाल आउने उनको चाहना छ। अर्को पटक धेरै समयका लागि नेपाल आउँदा देशबाहिर घुम्ने र यहाँका  धार्मिक स्थलमा पनि जाने गोलकिपर बुफोनको योजना छ।

बुफोन केपी ओली कप च्याम्पियनसिप  फुटबल प्रतियोगिताको फाइनलको प्रमुख अतिथिका रूपमा आएका हुन्। दशरथ रंगशालामा सोमबार हुने फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र साबिक विजेता मच्छिन्द्र फुटबल क्लब प्रतिस्पर्धा गर्दै छन्। उनी नेपाल आउने विश्व फुटबलकै ठूला खेलाडीमध्ये एक हुन्।

सन्  २००६ को फिफा विश्वकप जितेका बुफोनले १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले इटालीका लागि ८० खेलमा कप्तानको भूमिका निर्वाह गरेका थिए। बुफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए।

प्रकाशित: १९ फाल्गुन २०८१ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App