आयोजक भक्तपुर निस्ट स्कुलले तेस्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा मंगलबार विजयी सुरुआत गरेको छ।
लोकन्थलीस्थित घरेलु कोर्टमा निस्टले मल्पी इन्टरनेसनल स्कुललाई ३४–१६ ले हराउँदै सुखद सुरुआत गरेको हो। सिनियर गर्ल्सकै अन्य खेलमा त्रियोगले ओम ज्ञानमन्दिरलाई १३–७ र चेल्सी वर्ल्ड स्कुलले तपोभूमीलाई २२–१० ले हराए। सिनियर बोइजमा बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) ले निस्टलाई २४–१५ ले पराजित गर्यो। जुनियर गल्र्समा जनप्रेमी वल्र्ड स्कुलले बिआइएसलाई १५–१०, चेल्सीले निस्ट ‘बी’ लाई १०–३ र युरो स्कुल, कोटेश्वरले हिमालयलाई १५–१० ले पन्छाए।
जुनियर बोइज फुटबलमा गेटवे एकेडेमीले एमिनिटीलाई ६–२, वेदाङ्ग इन्टरनेसनल स्कुलले एभरेस्ट पब्लिक स्कुललाई ५–० र नालान्दा विद्यामन्दिरले कान्जिरोवा नेसनल स्कुललाई ३–० गोलले पराजित गरे। काठमाडौं वर्ल्ड स्कुल र चेल्सी वर्ल्ड स्कुलले गोलरहित बराबरी खेले। प्रतियोगिताको निस्ट फाउन्डेसनका अध्यक्ष डा. माधवप्रसाद बराल, कार्यकारी निर्देशक डा. राजेन्द्रकुमार घिसिङ, प्रमुख कार्यकारी अधिकृत चन्द्र अधिकारी र संस्थापक प्रिन्सिपल दिलीप रानाले संयुक्त रूपमा उद्घाटन गरे।
सो अवसरमा अध्यक्ष बरालले जितहारभन्दा पनि खेलभावनाको मर्मलाई आत्मसात् गर्न सहभागीलाई सुझाए। प्रिन्सिपल रानाले यस पटकदेखि प्रतियोगितासँगै विद्यार्थीमा स्वच्छ वातावरणबारे सचेतना जगाउने उद्देश्यले क्लाइमेट च्याम्पियन उपाधिको पनि व्यवस्था गरिएको बताए। बास्केटबलको सिनियर बोइजमा १४, सिनियर गल्र्समा ९ र जुनियर गल्र्समा १६ टोली सहभागी छन्। फुटबलमा २४ छात्र टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित: १४ फाल्गुन २०८१ ०७:५६ बुधबार