उपाधिको भोको नेपाली महिला फुटबल टोलीका लागि फेरि एकपल्ट घरेलु मैदान दशरथ रंगशालामा बुधबार अर्को अवसर प्राप्त हुनेछ। त्यो अवसर हो, चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी च्याम्पियनसिपको फाइनलमा घरेलु टोली नेपाल र म्यानमार बुधबार आमनेसामने हुँदै छन्। आफूभन्दा बलियो म्यानमारको चुनौती पन्छाउँदै घरेलु टोली इतिहास रच्न चाहन्छ। साथै लामो समयदेखिको उपाधि खडेरी तोड्ने लक्ष्यमा पनि नेपाली टोली हुनेछ। हुन त यो प्रतियोगिता फिफा, एएफसी या साफको कुनै प्रतिस्पर्धा भने होइन। तर पनि यो च्याम्पियनसिप नेपाली महिला फुटबलका लागि विशेष छ। किनकि नेपाली महिला फुटबल लामो समयदेखि अन्तर्राष्ट्रिय उपाधिको भोको छ।
पछिल्ला १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेले पनि नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। यसै वर्ष मात्र नेपाली टोली तीनवटा उपाधि भिडन्तमा चुकेको इतिहास छ। पाँच महिनाअघि मात्र नेपाल दशरथ रंगशालामै सम्पन्न महिला साफ च्याम्पियनसिपको फाइनलमा पनि पराजित हुन पर्यो। सेमिफाइनलमा भारतलाई हराउँदै उच्च आत्मबल बटुलेको नेपाली टोली फाइनलमा भने बाङ्लादेशसँग पराजित हुन पुगेको हो। यससँगै १२औं पल्ट नेपाली महिला टोली फाइनलमा असफल रह्यो।
एएफसी एसियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार देशीय च्याम्पियनसिप आयोजना गरेको हो। बलियो म्यानमारसँगै समान स्तरको लेबनान र किर्गिस्तानलाई बोलाउँदै एन्फाले महिला टोलीको तयारीलाई निरन्तरता दिन यो प्रतियोगिता आयोजना गरेको थियो। साथै यस च्याम्पियनसिपबाट एन्फा र स्वयम् खेलाडीले पनि उपाधिको सपना पूरा गर्न चाहन्थे। त्यसैले पनि यो च्याम्पियनसिप उनीहरूका लागि ठूलो अवसर हो। लिगमा शीर्ष दुई स्थानमा रहेर नेपाल र म्यानमार उपाधिका लागि खेल्न लागेका हुन्।
दुवैले लेबनान र किर्गिस्तानलाई हराएका थिए। तर, एकअर्काबीचको प्रतिस्पर्धामा भने नेपाल र म्यानमारबीच २–२ गोलको बराबरी भएको थियो। आफूभन्दा ४८औं स्थान माथि रहेको म्यानमारलाई नेपालले रोकेको हो। यो नतिजाले घरेलु टोलीका खेलाडीमा आत्मबल पनि बढेको छ। साथै घरेलु समर्थकको बलियो साथमा नेपाली टोली यो अवसर सदुपयोग गर्न चाहन्छ। नेपाली महिला टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पनि यसपल्ट अवसर खेर जान नदिन धेरै मिहिनेत गर्ने बताइन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्जिलाले धेरैपल्ट अवसर गुमाए पनि यसपल्ट कम गल्ती गर्दै उत्कृष्ट फुटबल खेल्ने उल्लेख गरेकी हुन्। ‘हामी धेरै पटक उपाधि नजिक पुगेर चुकिसकेका छौं। बुधबार त्यसलाई दोहोर्याउन चाहँदैनौं। पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न शतप्रतिशत दिनेछौं,’ उनले भनिन्। तर, घरेलु टोलीका लागि उपाधि जित्ने लक्ष्य सहज भने छैन। किनकि नेपालले हालसम्म म्यानमारलाई हराउन सकेको छैन। यी दुईबीच हालसम्म चारपल्ट भेट भएको छ। नेपाल म्यानमारसँग सन् २०१९ मा भारतमा सम्पन्न हिरो कपको लिगमा ३–० तथा फाइनलमा ३–१ ले पराजित भएको थियो।
त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एसिया छनोटको पहिलो चरणमा नेपालले म्यानमारसँग १–१ को बराबरी खेलेको थियो। म्यानमारविरुद्धको जुन नतिजा नेपालले सात वर्षपछि दोहोर्याएको हो। ‘सबैमा जसरी पनि उपाधि जित्नुपर्छ भन्ने भावना छ। म्यानमार उत्कृष्ट टोली हो। उनीहरू पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्। तर, हामी पनि तयार छौं। खेल रोमाञ्चक हुने अपेक्षा छ,’ नेपालकी कप्तान एन्जिलाले भनिन्, ‘गल्तीहरू सुधार गर्दै प्रशिक्षकको योजनाअनुसार प्रदर्शन गर्न सक्यौं भने च्याम्पियन बन्नेछौं।’
कम गल्ती गर्दै र प्रशिक्षकको योजनाअनुरूप खेल्न सकेमा उपाधि जित्ने लक्ष्य पूरा हुने उनको विश्वास छ।
गोलकिपर तथा कप्तान एन्जिालाले अनुशासित रूपमा खेल्ने टोली नै सफल हुने भएकाले बुधबार आफ्नो टोलीले टिम गेम खेल्ने बताएकी छन्। आफूहरू फाइनलमा उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको कप्तान एन्जिलाको भनाइ छ। सबै खेलाडी क्षमतावान् रहेकाले टिममा जुनसुकै खेलाडीले पनि खेल्न सक्ने उनको बुझाइ छ।
युरोपमा खेल्दा पाएको अनुभव पनि टोलीका लागि खर्चिएको उनी बताउँछिन्। नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले म्यानमारसँगको पछिल्लो भेटमा प्रेस गरेर खेल्दा सफल भएको बताएका छन्। साथै त्यस खेलमा छुट्टै रणनीति बनाएर खेल्दा सकारात्मक नतिजा प्राप्त भएको र फाइनलमा प्रयास रहने उनको भनाइ छ।
प्रशिक्षक तामाङले पनि एकै वर्षमा तीनवटा फाइनल खेल्नु राम्रो पक्ष रहे पनि ट्रफी जित्न नसक्दा दुखी भएको बताए। दुई फरवार्ड सावित्रा भण्डारी र रेखा पौडेलबीच तालमेल नमिले पनि अहिले त्यसमा सुधार आएको उनी बताउँछन्। म्यानमारका प्रशिक्षक तेत्सुरा युकीले घरेलु टोलीले राम्रो खेल्दै आएको र आफ्नो टोलीले पनि राम्रो तयारी गरेकाले फाइनलमा प्रतिस्पर्धात्मक फुटबल देख्न पाउने बताए।
प्रकाशित: १४ फाल्गुन २०८१ ०७:०५ बुधबार





