प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशस्तरीय छनोट खेल आइतबार वीरेन्द्रनगरमा सुरु भएको छ । कर्णालीका पाँच जिल्लाको सहभागिता रहेको प्रतियोगगितामा उत्कृष्ट खेलाडीहरुलाई छनोट गरेर कर्णाली प्रदेशस्तरीय टीम तयार गरिनेछ ।
छनोट प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पछिल्लो समय कर्णालीमा खेल पूर्वाधारहरुको विकास हुँदै गएको बताउँदै अब दक्ष खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए । उनले खेलाडीहरुलाई खेल क्षेत्रमै टिकाइ राख्नका लागि उनीहरुको बिमा गर्ने तयारी सरकारले गरिरहेको बताए ।
‘कर्णालीले पीएम कप जित्ने गरेर खेलाडी छनोट गर्न आवश्यक छ,’ उनले भने, ‘यसका लागि आफ्नो उत्कृष्ट खेल कौशल प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गर्छु । पिएम कप प्रतियोगीता फागुन २५ गतेदेखि सुरु हुँदैछ ।
कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदम खड्काले विगतमा क्रिकेटको अभ्यास गर्न कर्णाली बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनका अनुसार अहिले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा दुई वटा क्रिकेट मैदानहरु छन् ।
उनले ति क्रिकेट मैदानको घेराबार आवश्यक रहेको बताए । ‘प्रदेश सरकारले मैदानको घरबार गरिदिने हो भने हरेक वर्ष सुर्खेतमा हामी राष्ट्रिय प्रतियोगीताको आयोजना गछौं,’ उनले भने, ‘खेल मैदान भएपनि घेरबार नहुँदा संरक्षण गर्न सकिरहेका छैनौं ।’
भवन उद्घाटन
कर्णाली प्रदेश क्रिकेट संघको नयाँ भवनको आइतबार उद्घाटन गरिएको छ । कालुन्चोक क्रिकेट मैदाानमा निर्माण गरिएको तीन कोठे भवनको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गरेका हुन् । कर्णाली प्रदेश खेलकुद विकास समिति र नेपाल क्रिकेट संघको लगानीमा तीन कोठे भवन निर्माण गरिएको सचिव श्रीधर केसीले जानकारी दिए ।
प्रकाशित: ११ फाल्गुन २०८१ १५:१९ आइतबार





