इङ्ल्यान्डका कप्तान जोस बटलरले च्याम्पियन्स ट्रफीको खेलमा शनिबार अस्ट्रेलियासँग तीव्र गतिका तीन बलर नभए पनि प्रतिद्वन्द्वीले कठिन चुनौती दिने अपेक्षा गरेका छन्।
समूह ‘बी’ को खेलमा शनिबार लाहोरमा कट्टर प्रतिद्वन्द्वी इङ्ल्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै छ। आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग नियमित कप्तान तथा तीव्र गतिका बलर प्याट कमिन्स, जोस हेजलवुडसँगै मिचेल स्टार्क पनि हुने छैनन्।
हार्ट हिटर कमिन्स र हेजलवुड एन्कल इन्जुरी र कम्मरमा चोटका कारण आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने च्याम्पियन्स ट्रफीबाट बाहिरिएका हुन्। स्टार्कले भने व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका थिए। ढाडमा समस्या भएपछि मिचेल मार्स पनि बाहिरिन बाध्य भए। मार्कस स्टोइनिसले अप्रत्याशित रूपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका छन्।
अनुभवविहीन तीव्र गतिका बलरको साथमा अस्ट्रेलियाले पुरानो प्रतिद्वन्द्वी इङ्ल्यान्डसँग शनिबार खेल्दै छ। अस्ट्रेलियाको नेतृत्व भने अनुभवी स्टिभ स्मिथले गर्नेछन्। तर, इङ्ल्यान्डका कप्तान बटलर पुरानो प्रतिद्वन्द्वीलाई सहज रूपमा लिन चाहदैनन्। ‘उनीहरू लामो समयदेखि अस्ट्रेलियाको सफलतामा खेलाडी थिए। त्यसैले यी खेलाडीको कमी हुनेछ,’ इङ्ल्यान्डका कप्तान बटलरले भने, ‘तर अझै पनि उनीहरूसँग राम्रा खेलाडी छन्। कुनै पनि अस्ट्रेलियन खेलाडीले राम्रो खेल्न सक्छन्। त्यसमाथि पनि अस्ट्रेलियाले आइसिसीका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गरेको छ। त्यसैले अस्ट्रेलिया कठिन प्रतिद्वन्द्वी हुने भन्ने अपेक्षा गरेका छौं।’
अस्ट्रेलियाको तीव्र गतिको बलिङमा सिन अबोट, स्पेन्सर जोनसन र बेन ड्वारसुइस रहेका छन्। साथै एडम जाम्पाको स्पिन बलिङमा तनभिर साङ्घाले साथ दिनेछन्। ‘अस्ट्रेलिया र इङ्ल्यान्ड सदैव राम्रा प्रतिद्वन्द्वी हुन्। यी दुईबीच प्रतिस्पर्धात्मक खेल हुने गर्छ। पक्कै पनि च्याम्पियन्स ट्रफीमा पनि त्यस किसिमको खेल देखिनेछ,’ बटलरले भने, ‘त्यो खेललाई लिएर हामी उत्साहित पनि छौं।’
उनले आफ्ना तीव्र गतिका बलर जोफ्रा आर्चर फिट र उत्कृष्टता दिन तयार रहेको पनि बताएका छन्। ‘उनी अहिले फिट छन्। खेलबाट बाहिर रहेर उनी फर्कंदा राम्रो लाग्छ। उनी पनि टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्न तयार छन्,’ २९ वर्षे आर्चरबारे बटलरले भने।
च्याम्पियन्स ट्रफीका लागि भारत भ्रमणमा आर्चर पनि थिए। उनले भारतविरुद्ध पाँचवटै टी ट्वान्टी क्रिकेट खेले। तर, एकदिवसीयमा भने उनले पछिल्ला दुई खेल खेलेका थिएनन्। इङ्ल्यान्डले बिहीबार मात्र तेस्रो नम्बरमा ब्याटिङ गर्ने विकेटकिपर र ब्याटर जेमी स्मिथलाई समावेश गरेको थियो। त्यो निर्णयको पछाडि बटलरको हात रहेको अनुमान गरिएको छ।
‘उनीसँग टेक्निकली र ट्याक्टिकली राम्रो क्षमता छ। जसले काँधमा जिम्मेवारी बोक्न सक्छ, त्यो नै सबैभन्दा बलियो पक्ष हुन्छ भन्ने मेरो बुझाइ छ,’ बटलरले भने। बटलरले भारतको भन्दा पाकिस्तानमा फरक कन्डिसन रहेको पनि उल्लेख गरेका छन्। किनकि इङ्ल्यान्डले भारतसँग टी ट्वान्टी ४–१ र एकदिवसीयमा ३–० ले शृंखला गुमाएको थियो।
‘विश्वका हरेक देशमा फरक कन्डिसन हुन्छ। पाकिस्तानको पिचमा खेलेका धेरै खेलाडी हामीसँग छन्। त्यसैले यो पिचमा खेल्न सहज नै हुनेछ,’ उनले भने
शीर्ष टोलीमध्ये च्याम्पियन्स ट्रफी जित्न नसकेको इङ्ल्यान्ड मात्र हो। आइसिसीले सन् १९९८ मा यो प्रतियोगिताको सुरुआत गर्दा नकआउट फरम्याटमा गरेको थियो। तर, यसपल्ट भने इङ्ल्यान्ड उपाधि जित्न चाहन्छ।
इङ्ल्यान्डको समूह ‘बी’ मा अस्ट्रेलियासँगै दक्षिण अफ्रिका र अफगानिस्तान छन्। डिफेन्डिङ च्याम्पियन तथा आयोजक पाकिस्तान, भारत, न्युजिल्यान्ड र बाङ्लादेश समूह ‘बी’ मा छन्। पाकिस्तानले पहिलो खेलमा न्युजिल्यान्ड र बाङ्लादेशले भारतसँग हार बेहोरिसकेका छन्।
प्रकाशित: १० फाल्गुन २०८१ ०८:०८ शनिबार