३ चैत्र २०८१ आइतबार
image/svg+xml २१:२९ अपराह्न
खेल

सफल होला त पाकिस्तानको २९ वर्षको प्रतीक्षा?

च्याम्पियन्स ट्रफी अगाडि अभ्यास गर्दै पाकिस्तानी क्रिकेट टोलीका खेलाडी। तस्बिर : एएफपी

सुरक्षा चुनौतीका कारण पाकिस्तानी भूमिमा करिब तीन दशकपछि विश्व क्रिकेटको ठूलो प्रतियोगिता बुधबारदेखि आयोजना हुँदै छ।

आगामी साढे दुई हप्तासम्म पाकिस्तानका तीन शहरमा च्याम्पियन्स ट्रफीका खेल हुँदैछन्। जुन खेलहरू सहज र सुरक्षित तवरबाट सञ्चालन भए एकपल्ट फेरि दक्षिण एसियाली राष्ट्र पाकिस्तानमा अन्तर्राष्ट्रिय खेल आयोजनाका लागि प्रोत्साहन मिल्ने आशा त्यहाँका खेल समर्थकको छ।

‘विश्वलाई नै पाकिस्तान सुरक्षित स्थान रहेको सन्देश दिन आवश्यक छ। विश्वस्तरीय आयोजना गर्न हाम्रो देश सक्षम छ। यसका लागि च्याम्पियन्स ट्रफी राम्रो माध्यम बन्न सक्छ। त्यसैले यो आयोजनालाई सफलतापूर्वक सञ्चालन गर्न कडा मिहिनेत गर्दैछौं,’पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का चेयरमेन रमिज राजाले भने, ‘तब मात्र विश्वले हाम्रो धारणा बुझ्न सक्छ।

पाकिस्तानले सन् २०२१ मा नै यस च्याम्पियन्स ट्रफी आयोजना गर्ने जिम्मेवारी पाएको हो। यो प्रतियोगिता घरेलु भूमिमा नै गर्न पाकिस्तानले धेरै कसरत पनि गर्नुपर्‍यो। कट्टर प्रतिद्वन्द्वी भारतसँग लामो समयदेखि चलिरहेको राजनीतिक द्वन्द्वका कारण पाकिस्तानलाई यो प्रतियोगिता आयोजना गर्न सहज थिएन। त्यसमा पनि भारतले पाकिस्तानी भूमिमा खेल्न अस्विकार गरिरह्यो।

विश्व क्रिकेटको मैदानभित्र र बाहिर दुवैमा शक्ती राष्ट्रको रूपमा रहेको भारतले अन्तत् पाकिस्तानमा नखेल्ने नै भयो। आफ्ना सबै खेल दुबईमा खेल्ने भारतको प्रस्ताव सफल रह्यो। तर, अन्य सात राष्ट्र भने पाकिस्तानमा खेल्न तयार भए। आफ्नो भूमिमा आउन लागेका पाहुनाको सुरक्षाका लागि पाकिस्तानले पनि विशेष तयारी गरिरहेको छ।

त्यसमा पनि आयोजक शहर कराची, लाहोर र रावलपिन्ढीमा सुरक्षा स्थिति बलियो बनाइएको छ। विश्वकपछि पाकिस्तानमा सन् २००८ को च्याम्पियन्स ट्रफी आयोजना हुने तय थियो। तर, सुरक्षा खतराकै कारण त्यो आयोजना त्यहाँबाट सरेर एक वर्षपछि दक्षिण अफ्रिकामा भयो।

छिमेकी राष्ट्र अफगानिस्तानमा भएको युद्धको प्रभाव पनि पाकिस्तानमा परेको थियो। त्यो आयोजना पनि अफगानिस्तानकै युद्धका कारण खोसिएको हो। सन् २००९ मा श्रीलंका क्रिकेट टोलीलाई लक्षित गर्दै लाहोरमा आक्रमण भएपछि भने पाकिस्तान भूमिमा अन्तर्राष्ट्रिय टोली नै जान छाडे।

त्यस आक्रमणमा केही खेलाडी घाइते भए भने आठ सुरक्षाकर्मी र सर्वसाधारण पनि मारिएका थिए। सन् २०१४ पछि सैनिक शासन सुरु भएपछि पाकिस्तानको सुरक्षा स्थिति सुधारिएको छ। त्यसैले पनि पहिलोपल्ट सन् २०१९ मा अन्तर्राष्ट्रिय टोली पाकिस्तान गएका हुन्।

अस्ट्रेलिया, इङल्यान्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका क्रिकेट टोलीले पाकिस्तान भ्रमण गर्दै उसलाई ठूला प्रतियोगिता आयोजनाका लागि दाबेदारी प्रस्तुत गर्न सघाएका थिए। यीनै टोली पाकिस्तानमा नै च्याम्पियन्स ट्रफी हुनुपर्छ भन्दै उसको साथमा पनि रहे। ७७ वर्षे व्यावसायी हाजी अब्दुल रज्जाक विश्वको ठूलो आयोजना पाकिस्तान फर्कनुलाई जन्मदिनका रूपमा लिन्छन्।

पाकिस्तानले पछिल्लोपल्ट सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सन् १९९६ आयोजना गरेको थियो। जहाँ भारत र श्रीलंकासँगै पाकिस्तान सहआयोजक थिए। सन् १९९६ को मार्च १७ मा लाहोरको गद्याफी स्टेडियममा श्रीलंकन झन्डा फरफराएको रज्जाकले देखेका थिए।

जतिबेला श्रीलंकाले अस्ट्रेलियालाई हराउँदै विश्वकपको उपाधि उचालेको थियो। २९ वर्षपछि विश्व क्रिकेटको ठूलो प्रतियोगिताको रूपमा बुधबारदेखि च्याम्पियन्स ट्रफी पाकिस्तानमा हुँदै छ। कराँचीमा हुने उद्घाटन खेलमा पाकिस्तानले न्युजिल्यान्डविरुद्ध खेल्दा घरेलु समर्थकमा पनि छुट्टै उत्साह मिल्नेछ।

‘आतकंवादले हामीबाट सबै कुरा खासेको थियो। तर, फेरि विश्व स्तरीय आयोजना मेरो देशमा फर्किंदा धेरै खुसी छु। मेरो जन्मोत्सव आइरहेको महसुस भएको छ,’ रज्जाकले भनेका छन्। यद्यपि, अझै पनि पाकिस्तानका बोर्डर क्षेत्रमा सुरक्षा चुनौती देखिएका छन्। तर, ती क्षेत्र क्रिकेट आयोजना हुन लागेका स्टेडियमभन्दा धेरै टाढा छन्।

अहिले पाकिस्तानको राजधानी इस्लामवादमा लकडाउन गरिएको छ। जहाँ संघाइ कोअपरेसन अर्गनाइजेसनको सम्मेलन र छात्राको शिक्षासम्बन्धि एक अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना भएका छन्। सन् १९८७ को विश्वकप खेलेका पाकिस्तानका पूर्वकप्तान रमिज राजाले च्याम्पियन्स ट्रफी आयोजनापछि आफ्नो भूमिमा अन्य खेलको पनि अन्तर्राष्ट्रिय प्रतियोगिता फर्कन आशा गरेका छन्।  

प्रकाशित: ७ फाल्गुन २०८१ ०९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App