नेपाली युवा टोली चीनको युनान प्रान्त युथ टोलीसँगको मैत्रीपूर्ण फुटबलमा पराजित भएको छ।
चिनियाँ नयाँ वर्षको अवसरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा घरेलु टोली चिनिया टोलीसँग २–० गोलअन्तरले पराजित भएको हो। यससँगै चिनियाँ टोलीले गत वर्ष बेहोरेको हारको बदलासमेत लियो। गत वर्ष नेपाली टोलीले चिनियाँ टोलीमाथि ५–१ को जित निकालेको थियो। यसपल्ट भने चिनियाँ टोली हाबी भयो। डिफेन्डर सीमान्त थापामगरको कप्तानीमा रहेको घरेलु टोलीले केही अवसर सिर्जना गरेको थियो। तर, गोल भने गर्न सकेन। चिनिया टोलीका लागि यु मेङ्घुई र वाङ बिनहानले समान एक गोल गरे। दुवै हाफमा १–१ गोल भएको हो।
खेलको २०औं मिनेटमा नै चिनिया टोलीले अग्रता लिएको थियो। मेङ्घुईले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका हुन्। दुई डिफेन्डरलाई छक्याउँदै उनले दोस्रो बार च्यापेर गरेको प्रहार नेपाली युवा टोलीका गोलकिपर क्रिसल मोक्तानले पत्तै पाएनन्। त्यो गोलसँगै घरेलु टोली दबावमा प¥यो। यद्यपि, नेपाली टोलीले २४औं मिनेटमा खेलमा फर्कन प्रयास ग¥यो। तर, सफल भएन। चिनियाँ गोलकिपर लेइ जिबो अगाडि बढेको अवस्थामा सरोज दर्लामीले मध्य भागबाट गरेको लामो प्रहार बारभन्दा केही माथिबाट बाहिरिन पुग्यो।
एक मिनेटपछि नै घरेलु टोलीको अर्को उत्कृष्ट प्रहार सफल भएन। निराजन धामीले करिब १० यार्डबाट गरेको सशक्त प्रहार पनि चिनिया गोलकिपर लेईले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीको अग्रता कायमै राखेका हुन्। २९औं मिनेटमा चिनियाँ टोलीको उत्कृष्ट अवसर नेपाली गोलकिपर क्रिसलले बिफल बनाए।
ही हाओहानको वान भर्सेस वानको प्रहारलाई क्रिसलले रोकेका हुन्। वान बिनहानले दिएको कट पास नियन्त्रणमा लिँदै हाओहानले गरेको वान टचलाई क्रिसलले रोके। त्यसपछि पहिलो हाफको थप समयमा पनि नेपाली टोलीको आक्रमण सफल हुन सकेन।
नेपालको इनडाइरेक्टर फ्रिकिक प्रहारलाई चिनिया गोलकिपर लिई झिबोले रोके। यससँगै पहिलो हाफमा पाहुना टोली १–० ले अगाडि रह्यो। ६६औं मिनेटमा कृष्ण आलेको फ्रिकिक बार माथिबाट बाहिरियो। ७६औं मिनेटमा चिनिया टोलीका यु मेङ्घुई खाली पोस्टमा गोल गर्न चुके।
नेपाली टोलीका डिफेन्डर र गोलकिपर क्रिसललाई बिट गर्दै बिनहानले दिएको कट पासमा मेङ्घुई खाली पोस्टमा गोल गर्न चुकेका हुन्। तर, एक मिनेटपछि नै चिनियाँ टोलीले काउन्टर आक्रमणमा अर्को गोल ग¥यो। मध्य भागबाट हाओहानले दिएको बललाई नियन्त्रणमा लिँदै बिनहानले नेपाली टोलीका कप्तान सीमान्तलाई बिट गर्दै गोल गरेका हुन्।
८९औं मिनेटमा घरेलु टोलीको उत्कृष्ट अवसरमा फेरि चिनियाँ गोलकिपर लिईले उत्कृष्ट बचाउ गरे। करिब २५ यार्डबाट विक्रम गौतमले दोस्रो बारको टप कर्नर च्याप्दै गरेको प्रहार चिनियाँ गोलकिपर लिईले पन्च गर्दै बाहिर पठाए।
इन्जुरी समयमा कप्तान सीमान्तको लामो प्रहार पनि सफल भएन र पाहुना टोलीसँग नेपाली टोली २–० ले पराजित हुन पुग्यो। त्यसअघि उक्त मैत्रीपूर्ण खेलको गृहमन्त्री रमेश लेखक र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले उद्घाटन गरेका थिए। उक्त मैत्रीपूर्ण फुटबल एक भव्य समारोहबीच सुरु भएको थियो। नेपाल उसु महासंघको खेलाडीले डेमोन्स्ट्रेसनका साथै चिनियाँ गीत प्रस्तुती भएको थियो।
प्रकाशित: ४ फाल्गुन २०८१ ०८:०६ आइतबार