जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको दिन माघ २७ गते ताप्लेजुङको मैवाखोला गाउँपालिकाले स्थानीय बिदा दिएको छ। गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले उक्त दिन पालिकाले स्थानीय बिदा दिएको बताए।
जिल्ला खेलकुद विकास समितिको आयोजना तथा मैवाखोला गाउँपालिकाको संयोजनमा माघ २७ गतेदेखि नारायण मावि साँघुमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै छ। प्रतियोगितामा ६६ स्वर्ण, ६६ रजत र ७० कास्यका लागि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू (गणेश) ले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए। मैवाखोला गाउँपालिका अध्यक्ष वनेमले प्रतियोगिताको संयाजनकर्ता आफ्नो पालिका रहेकाले खेलाडी तथा खेलप्रेमी महानुभावको स्वागत र सत्कारकासहित व्यवस्थापनको कार्य अन्तिम चरणमा पु¥याएको बताए। ‘हामी सभ्य र भव्य ढंगले प्रतियोगिता सम्पन्न गर्नेगरि सबै किसिमले तयारी अवस्थामा छौं’ अध्यक्ष वनेमले भने।
उनका अनुसार उद्घाटनको दिन माघ २७ गते १ हजार ५ सय विद्यार्थीले एकैपटक नृत्य प्रस्तुत गर्ने गरी तयारी गरिएको छ। उक्त नृत्यमा पालिकाका सबै बिद्यालयको प्रतिनिधित्व हुने समेत पालिकाले जनाएको छ।
मैवाखोला गाउँपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रोत्साहन रकम दिने घोषणा समेत गरेको छ।
यसअघि मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर (डम्बर) हाङगामले पनि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रोत्साहन रकम दिने घोषणा गरिसकेका छन्। मैवाखोला गाउँपालिकाले खेल अवधिभर पालिकाबाट सहभागी भएका खेलाडीको १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा समेत गरिदिएको जनाएको छ।
प्रकाशित: २५ माघ २०८१ ११:५८ शुक्रबार





