३० माघ २०८१ बुधबार
image/svg+xml
खेल

बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा भुटान

भुटानको रोयल थिम्पु कलेज २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

धरान रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा भुटान प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेजले इटहरीको राष्ट्रिय जागृति क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

सेमिफाइनलमा भुटानले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। बुढासुब्बा गोल्डपको उद्घाटन खेलमा चर्च ब्वाइजले विभागीय टिम नेपाल पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा स्थान सुरक्षित गरेको थियो।

रोयर थिम्पुको जितका लागि सोनाम योसी, सोनाम जुगरुल चावजाङ्, कर्मा टी जाम्सो र नोयडा योसेलले गोल गरे। जसमा भुटानले खेलको सातौं मिनेटमा पहिलो गोल गर्‍यो। पहिलो गोल भुटानका सोनाम योसीले गरे। उनले उक्त गोल नोयेदा योसेलको पासलाई सदुपयोग गरेर गरेका हुन्।

पहिलो हाफमा १–० ले अग्रता लिएको भुटानले दोस्रो हाफमा थप ३ गोल गरेको थियो। दोस्रो हाफको ७ औं मिनेटमा सोनाम जुगरुलले अर्को गोल थपे। इटहरीको डिबक्स एरियामा डिफेन्सले क्लियर गर्न नसकेको बललाई सोनामले दोस्रो बार च्याप्दै जाली चुमाउन सफल भएका थिए।

दोस्रो हाफको १४ औं मिनेटमा कर्मा टी जम्सोले गोल थप अर्को गोल थपे। दोस्रो हाफको २५ औं मिनेटमा सोनाम योसेको पासलमा नोयडा योसेनले गोल गर्दै टिमको जित निश्चित गरे।

खेलको म्यान अफ दि म्याच भुटानका सोनाम योसे घोषित भए। उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो। इटहरीले दोस्रो हाफको ३२ औं मिनेटमा आलेक्सले सान्त्वना गोल गरे। 

तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको इटहरीले अपेक्षाकृत खेल प्रदर्शन गर्न सकेन्। इटहरीका खेलाडी भुटानको तुलनामा शारीरिक रुपमा बलिया देखिए पनि सो अनुसार खेल प्रदर्शन गर्न सकेनन्।

मंगलबारको अन्तिम क्वाटरफाइनल खेल साबिक विजेता काठमाडौंको न्युरोड टिम (एनआरटी) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच खेल हुने आयोजकले जनाएको छ।

माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई नगद १० लाखसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ।

यस्तै, उपविजेता टिमलाई पाँच लाखसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई एक लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही १५ हजार, सर्वाधिक गोलकर्ता ३५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही २५/२५ हजार नगद र शिल्ड प्राप्त गर्नेछन्।

प्रकाशित: २१ माघ २०८१ १८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App