२ माघ २०८१ बुधबार
image/svg+xml
खेल

उपाधिमा एपिएफको सुरुआती दाबेदारी

प्रधानमन्त्री कप महिला टी-२०

लगातार लय गुमाइरहेकी नेपाली राष्ट्रिय टोली कप्तानसमेत रहेकी इन्दु बर्मा फर्ममा फर्किएसँगै साबिक विजेता एपिएफले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिमा सुरुआती दाबेदारी पेस गरेको छ।

कैलालीको धनगढीस्थित फाफ्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै १८२ रनको योगफल बनाएको थियो। तर, जबाफमा १८३ रनको लक्ष्य पछ्याएको कर्णालीले सात विकेट गुमाउँदै ७१ रन मात्रै बनायो। योसँगै एपिएफले आफ्नो पहिलो खेलमै १११ रनको फराकिलो जित दर्ता गरेको छ।

ओपनरद्वय राजमती ऐरी र ममता चौधरीले एपिएफलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। उनीहरूबीच पहिलो विकेटका लागि ५८ रनको साझेदारी भयो। दीक्षा पुरीले ऐरीलाई ८.१ ओभरमा २२ रनमै क्याच गराइन्। २४ बल खेलेकी उनले तीन चौका प्रहार गरेकी थिइन्। उनी आउट भएपछि इन्दुले ममतासँग दोस्रो विकेट लागि १५८ रनको साझेदारी गरेसँगै कर्णालीले विशाल लक्ष्य पाएको हो।

ममताले अविजित रहँदै सर्वाधिक ७८ रन बनाइन्। ६६ बल खेलेकी उनले १० चौका प्रहार गरिन्। इन्दुले पनि अविजित ५२ रन बनाउँदै उनलाई अन्तिमसम्म साथ दिइन्। उनले ३४ बलमा सात चौका प्रहार गरिन्। बलिङतर्फ कर्णालीकी दीक्षाले मात्रै एक विकेट लिइन्। लक्ष्य पछ्याउने क्रममा पनि उनी मात्रै चलिन्। २० बल खेलेकी उनले दुई चौकासहित सर्वाधिक १७ रन बनाइन्।

कर्णालीले पहिलो पावरप्लेमा २२ रन बनाउँदा दुई विकेट गुमाइसकेको थियो। ओपनरद्वय शोभिका शाही आठ र रमा बुढाथोकी १० रनमा आउट भए। यससँगै कर्णालीको मध्यक्रममाथि दबाब थपिएको थियो। तर, करुणा भण्डारीको उत्कृष्ट बलिङमा कर्णालीले खेलमा पुनरागमन गर्ने मौका नै पाएन।

सिमाना मल्ल एक, कप्तान बिना थापा चार र विमला बुढाथोकी नौ रनमा करुणाको बलमा आउट भए। त्यसपछि गौरी बोहरा र दीक्षाले सातौं विकेटका लागि २६ रनको साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरे पनि सफल हुन सकेनन्। दीक्षा स्टम्पिङ भएसँगै कर्णालीले एक रन थप्दा श्रुति बूढालाई पनि गुमायो। गौरी १० रनमा अविजिति रहिन्।

एपिएफकी स्पिनर करुणाले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले ११ रन मात्रै खर्चिइन्। रेखा रावल, सुमना विष्ट र बिनु बुढाको नाममा समान एक विकेट रह्यो।

मौसमले प्रभाव पारेको अर्काे खेलमा भने यति ठूलो स्कोर नै बन्न पाएन। १५ ओभरमा खेल झारेसँगै टस हारेको गण्डकी ब्याटिङमा उत्रिएको थियो। तर, गण्डकीले सात विकेट गुमाउँदै ५५ रन मात्रै बनाउन सक्यो। जबाफी ब्याटिङमा आएको सुदूरपश्चिम प्रदेशले  

९.५ ओभरमा तीन विकेट गुमाउँदै ५६ रनको सामान्य लक्ष्य भेटायो। यससँगै सुदूरपश्चिमले सात विकेटको जितसँगै विजयी सुरुआत ग¥यो। सुदूरपश्चिमको जितमा रेवती धामीले अलराउन्ड प्रदर्शन गरिन् बलिङमा चार विकेट लिएकी उनले ब्याटिङमा अविजित २१ रन जोडिन्। २७ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। उनीबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

मनीषा बोहरा नौ, कप्तान विन्दु रावल ६ र कविता कुँवर आठ रनमा आउट हुँदा शोभा रोकायाले अविजित चार रन बनाइन्। गण्डकीका आकृति तिवारी र अपेक्षा बुढाथोकीले समान एक विकेट हात पारे।

त्यसअघि गण्डकी प्रदेशले १५ ओभरमा सबै विकेट गुमाउँदै ५५ रन मात्रै बनाउन सक्यो। त्यो ५५ रनमा पनि सुदूरपश्चिमका बलरले १८ रन अतिरिक्त थपिदिए। गण्डकीकी रेखा तामाङले सर्वाधिक १३ रन बनाइन। कप्तान सिर्जना पौडलले १० रनको योगदान दिइन्। अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। सुदूरपश्चिमकी रेवतीले सर्वाधिक चार विकेट लिइन्। तीन ओभर बलिङ गरेकी उनले नौ रन मात्रै खर्चिइन्। जानकी  थापा र ऋतु कनौजियाको नाममा समान एक विकेट रह्यो।

प्रकाशित: २ माघ २०८१ १०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App