नेपाल पुलिस क्लब जय ट्रफी पुरुष एलिट कप क्रिकेटको फाइनलमा पुगेको छ । लिगको आफ्नो तेस्रो खेलमा आइतबार बागमती प्रदेशलाई ५ विकेटले पराजित गर्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो ।
पहिलो खेलमा त्रिभुवन आर्मीसँग बराबरीमा रोकिए पनि पुलिसले मधेश प्रदेश र बागमती प्रदेशलाई भने पराजित गरेको थियो । मधेशलाई एक इनिङ्स र ३५ रनले हराएको पुलिस लिग चरणमा शीर्ष स्थानमा रह्यो । पुलिसको ६६ र आर्मीको ५५ अंक रह्यो ।
दुईमा बराबरी र एकमा जित निकालेको त्रिभुवन आर्मी पनि फाइनलमा प्रवेश गरेको छ । पुलिस र बागमतीसँग बराबरीमा रोकिएको आर्मीले आइतबार नै मधेशलाई ८ विकेटले पराजित गरेको थियो ।
उपाधि भिडन्त मंगलबारदेखि वीरगञ्जमा हुनेछ । फाइनल खेल भने तीन दिन हुनेछ ।
जनकपुरमा आइतबार बागमतीले दिएको ११६ रनको लक्ष्य पुलिसले ५ विकेटको क्षतिमा पूरा गर्यो । उसको जितमा क्याप्टेन कुशल भुर्तेलले ३२ र अमित श्रेष्ठले ५६ रनको योगदान गरे । अर्जुन साउद २० रनमा नटआउट रहे ।
क्याप्नेट सन्दीप लामिछानेले २ तथा प्रतिस जिसी, सूर्य तामाङ र नन्दन यादवले समान एक विकेट लिए पनि हार भने टार्न सकेनन् । पुलिसले पहिलो इनिङ्समा २१५ रन बनाएको थियो ।
पहिलो इनिङ्समा ११२ रनमा समेटिएको बागमती दोस्रोमा २१८ रनमा अलआउट भएको थियो ।
बिना क्षति ८ रनबाट दोस्रो दिनको खेल थालेको बागमतीका लागि दोस्रो इनिङ्समा शुभ कंशाकारले ७० र रित गौतमले ५२ रन बनाए । अन्यको प्रदर्शन सम्झनलायक रहेन । रित र शुभले दोस्रो विकेटका लागि १०९ रनको साझेदारी गरेका थिए ।
पुलिसका लागि ललित राजवंशीले ३ र श्रवण थादवले २ विकेट लिए । गुल्शन झा, रसिद खान, क्याप्टेन कुशल भुर्तेल र प्रेम तामाङको नाममा समान एक विकेट रह्यो ।
बागमती र मधेश भने जितविहीन रहे । बागमती दुईमा बराबरी र एकमा पराजित भयो भने मधेश दुईमा पराजित र एकमा बराबरीमा रोकियो ।
प्रकाशित: २८ पुस २०८१ १५:१३ आइतबार