१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

जय ट्रफी मेन्स एलिट कप : पहिलो दिन स्पिनरको नाममा २२ विकेट

जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत आइतबार पहिलो दिनको खेलमा ब्याट्सम्यानविरुद्ध बलरहरु हावी भएका छन् ।  

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन कुल २९ विकेट झरेको छ । पहिलो दिन स्पिनरहरुले घातक बलिङ गर्दा चारै टिमको ब्याटिङ लाइनअप ध्वस्त बनेको छ । २९ मध्ये २२ विकेटमा स्पिनरले आफ्नो नाम लेखाएका छन् । ललित राजवंशीले ७ विकेट लिँदा सन्दीप लामिछाने र साहब आलमको नाममा समान ५ विकेट रह्यो ।  

आइतबार पर्साको वीरगन्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा धनुषाको जनकपुरमा बागमती प्रदेश र मधेश प्रदेशबीच पहिलो दिनको खेल भएको थियो ।

वीरगञ्जमा टस हारेर नेपाल पुलिस क्लबविरुद्ध पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लब ३४.४ ओभरमा १२१ रनमा अलआउट भयो । आर्मीका लागि कुशल मल्लले २५, भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए । अन्यको प्रदर्शन निराशाजनक रह्यो ।  

आर्मीलाई सस्तैमा समेट्न पुलिसका ललित राजवंशीले १७.४ ओभर बलिङ गर्दै ४७ रन दिएर ७ विकेट झारे । कुशल भुर्तेल, सर्वन यादव र राशिद खानको नाममा समान एक विकेट रह्यो ।  

आइतबार नै आफ्नो पहिलो इनिङ्स थालेका पुलिसले पनि गतिलो जवाफ फर्काउन सकेन । दिनको खेलको समाप्तिमा पुलिसले ७ विकेटको क्षतिमा १०३ रन बनाएको छ । गुल्शन झा ३४ रनमा अविजित छन् । आर्मीका लागि साहब आलमले ५ तथा सोमपाल कामी र पवन कार्कीले समान एक विकेट लिएका छन् ।

उता, जनकपुरमा बागमती प्रदेशविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको मधेश प्रदेश पनि ३५.२ ओभरमा मात्र १०२ रनमा अलआउट भयो । मयन यादवले २१ रन बनाउनु बाहेक अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। बागमतीका क्याप्टेन सन्दीप लामिछानेले ५ र सूर्य तामाङले ३ विकेट लिए । नन्दन यादव र प्रतिश जिसीको समान एक विकेट रह्यो ।  

आइतबार नै बागमतीले भने सम्हालिएर जवाफी ब्याटिङ थालेको छ । दिनको खेलको समाप्तिमा उसले २ विकेट गुमाएर ३४ रन बनाएको छ । बागमतीका शुभ कंसाकार २२ र इशान पाण्डे ९ रनमा क्रिजमा छन् । मधेशका रुपेश सिंह र विशाल पटेलले एकएक विकेट लिएका छन् ।

प्रकाशित: २१ पुस २०८१ १८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App