जितमा रमाउने कि फिनिसिङ र डिफेन्समा देखिएको कमजोरीमा खिन्नता महसुस गर्ने ? साबिक विजेता एपिएफ क्लबका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डे शनिबार एन्फा महिला लिगको फाइनल राउन्डको पहिलो खेलपछि यही कुरामा अलमल देखिए।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले बागमती युथ क्लबमाथि ५–१ को फराकिलो जित निकालेको थियो। तर, लिगचरणमा जसरी बागमतीमाथि एपिएफ हाबी थियो, यसपल्ट भने त्यो प्रदर्शन देखिएन। जीवेश पनि पछिल्ला भेटमा जस्तो खेल्न नसकिएको स्विकार्छन्।
उनी भन्छन्, ‘फिनिसिङमा समस्या छ। त्यसलाई नै ध्यानमा राखेर प्रशिक्षण गरेका थियौं। तर, डिफेन्स पनि कमजोर देखियो।’
गत असोजमा एपिएफले बागमतीमाथि ७–० को नतिजा निकालेको थियो। त्यसमा रश्मिकुमारी घिसिङ एक्लैले पाँच गोल गरेकी थिइन्। अन्य दुई गोल अनिता बस्नेत र सविता रानामगरले गरेकी हुन्।
अहिलेको स्कोर लाइन पनि खासै फरक छैन। शनिबार फाइनल राउन्डमा जित दिलाउन पनि रश्मिले नै ह्याट्रिक गरिन्। अनिता केसी र गीता रानाले १/१ गोल थपिन्। रेनुका नगरकोटेले मिलाइदिएको बलमा छैटौं मिनेटमै रश्मिले गोल गोल गरिन्। एपिएफले जसरी खेलिरहेको थियो, त्यो हेर्ने हो भने त्यतिखेरसम्म एक मात्रै होइन ३/४ गोल भइसक्नु पर्ने थियो।
यद्यपि, मिडफिल्डर सरु लिम्बू, प्रीति राई, अनिता केसी र रश्मिले फिनिसिङ गर्न सकिनन्। १२औं मिनेटमा अनिताले कर्नरबाट दिएको बललाई रश्मिले नै हेडरमार्फत गोल गर्दै अग्रता २–० मा पुर्याइन्। तर, १७औं मिनेटमा निशा थोकरले गोलकिपर सावित्री किसनलाई ‘ब्याक पास’ दिन ढिला गर्दा पुष्पाकुमारी खड्काले त्यसको फाइदा उठाउँदै खेल २–१ मा ल्याइन्।
लगातार पाँच ‘क्लिन सिट’ राखेको एपिएफले छैटौं खेलमा गोल खाएको हो। विभाग बाहिरको टोलीले एपिएफविरुद्ध गरेको यो दोस्रो गोल हो। यसअघि वालिङ नगरपालिकाकी सिसी एन्टोन्गोले एपिएफविरुद्ध गोल गरेकी थिइन्।
यसपल्ट बागमतीसँग एपिएफले गोल बेहोर्ला भनेर ‘टचलाइन’ मा उभिएका जीवेश मात्रै होइन बागमतीका सहायक प्रशिक्षक सोनाम लामालाई पनि विश्वास थिएन। ‘कल्पना नगरेको गोल भयो। एपिएफजस्तो टिमविरुद्ध बिल्डअप गरेर गोल हान्न सकिने अवस्था थिएन। हाम्रो योजना सेट पिसमा बल फ्याँक्ने र घारङघुङमा गोल गर्ने थियो,’सोनामले खुसी हुँदै भने। बागमतीले पुष्पालाई मात्रै अगाडि उतारेको थियो। उनी एक्लैले तीन मौका पनि सदुपयोग गर्न सकिनन्। तर, गीताले २७औं, अनिताले ५९औं र रश्मिले ७०औं मिनेटमा गोल थप्दै ५–१ को जित दिलाए।
यद्यपि, फराकिलो जितले पनि एपिएफको फिनिसिङ र डिफेन्समा देखिएको कमजोरी लुकेन। गीताले आफ्नो क्षमता अनुसार डिफेन्स देखाउन सकिनन्। यता, जीवेशले पहिलो हाफमा नम्बर १० मा सरु र दोस्रो हाफमा अनितालाई प्रयोग गरे पनि नतिजा पाँचभन्दा माथि उक्लिएन।
डबल राउन्ड रोविनमा जारी लिगको फाइनल राउन्डमा एक गोल या एक अंकले पनि क्वालिफायर खेल्न र इलिमिनेटरमा पुग्न भूमिका खेल्ने सक्छ। जीवेशले पनि यो कुरा बुझेका छन्। अझ एपिएफले मुख्य प्रतिस्पर्धीद्वय नेपाल पुलिस र त्रिभुवन आर्मीसँग विभागीय डर्बी खेल्न नै बाँकी छ। त्यसैले उपाधि जित्ने लक्ष्य राखेको एपिएफले सानोसानो कुरामा नजरअन्दाज गर्न नमिल्ने जीवेशको भनाइ छ।
शीर्ष चारमा रहेर इलिमिनेटर खेल्ने लक्ष्यसहित काठमाडौं आएको बागमती भने ठूलो हार बेहोर्न नपर्दा दंग छ। उसको प्रतिस्पर्धी भनेको वालिङ मात्रै हो। त्यसैले बागमती तीन विभागीय टोलीसँग कम गोल खाने र वालिङविरुद्ध नतिजा निकाल्ने योजनामा छ।
प्रकाशित: २१ पुस २०८१ ०८:१२ आइतबार





