अबको एक सातापछि वर्तमान मुख्यसचिव सुमनराज अर्याल अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि निजामती सेवाको सबैभन्दा माथिल्लो पद मुख्यसचिवमा को नियुक्त हुन्छ भन्ने विषय कर्मचारी वृत्तमा चर्चा र चासोको केन्द्र बनेको छ।
वर्तमान मुख्यसचिव अर्याल असार २५ गतेसम्म पदमा रहनेछन्। त्यसको भोलिपल्टै उनी अवकाशमा जानेछन्। अर्याल २०८२ मंसिर ८ गते मुख्यसचिव नियुक्त भएका थिए। त्यसैले उनले करिब आठ महिनासम्म मुख्यसचिवका रूपमा काम गर्ने अवसर पाए। ५८ वर्ष उमेर हदका कारण उनी अनिवार्य अवकाशमा जान लागेका हुन्।
सचिव दुई किसिमबाट अनिवार्य अवकाशमा जाने कानुनी व्यवस्था छ। पाँच वर्ष कार्यकाल पूरा गरेर अथवा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाशमा जाने व्यवस्था निजामती सेवा ऐनमा उल्लेख गरिएको छ।
अर्यालको अवकाशपछि सरकारले पालो नमिचेमा हाल मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव किरण शर्मा मुख्यसचिवमा नियुक्त हुने सम्भावना छ। तर, विगतमा मुख्यसचिव नियुक्तिको सवालमा बेला-बेलामा पालो मिच्ने गरिएको देखिएको छ।
यदि मुख्यसचिव बन्ने अवसर पाएनन् भने शर्माले यही साउन ३ गते सचिवका रूपमा पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाउनेछन्।
दुई वर्षअघि शर्माले पीआर (विदेशमा बस्न पाउने आवास अनुमति) लिएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो। केन्द्रले २०८१ मंसिर २५ गते शर्मामाथि लगाइएको उजुरी पुष्टि नभएको भन्दै क्लिन चिट दिएको थियो।
वर्तमान मुख्यसचिव अर्यालले अवकाश पाएको दुई दिनपछि खगेन्द्रप्रसाद नेपालले अवकाश पाउनेछन्। त्यसैले वरिष्ठताका हिसाबले शर्मा भन्दा नेपाल अगाडि छन्। तर, नेपालको लागि सरकारले विशेष पद सिर्जना गरेर सचिव बनाएको हो।
राष्ट्रिय किताबखानाका अनुसार शर्मा पछि लोकनाथ पौडेल वरिष्ठ मानिन्छन्। आगामी साउन ६ गते पौडेल अनिवार्य अवकाशमा जानेछन्। त्यसपछि साउन १९ गते प्रधानमन्त्री कार्यालयमा कार्यरत हरिप्रसाद मैनाली अवकाशमा जानेछन्। यसैगरी गोविन्दप्रसाद शर्मा साउन २४ गते र भदौ २ गतेबाट डिल्लीराम शर्मा अनिवार्य अवकाशमा जानेछन्।
यसैगरी भदौ ३ गते बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी र १३ असोजमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल अनिवार्य अवकाशमा जानेछन्। वरिष्ठतामा सिग्देल नवौँ नम्बरमा पर्छन्।
आगामी असोजमा गृह सचिव राजकुमार श्रेष्ठ, सरजुकुमार वैद्य, हाल राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ तथा कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्र पनि अनिवार्य अवकाशमा जानेछन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत पुसमा अनिवार्य अवकाशमा जाँदैछन्। वर्तमान मुख्यसचिव अर्यालले अवकाश पाउनुभन्दा दुई दिनअघि मात्रै हाल मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा जगेडामा राखिएका कृष्णहरि पुष्करले पनि अनिवार्य अवकाश पाउनेछन्। त्यसैले पुष्करका लागि मुख्यसचिव बन्ने बाटो बन्द भएको छ।
निजामती सेवा ऐनमा वरिष्ठता र कार्यसम्पादनका आधारमा मुख्यसचिव नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ। अहिले नेपाल सरकारमा सचिवको दरबन्दी ७१ रहेको छ भने हाल ६५ जना सचिव कार्यरत छन्।
मुख्यसचिवका अधिकार
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार मुख्यसचिवले सरकारका सचिव तथा अन्य विशिष्ट श्रेणीका अधिकृतहरूको सुपरीवेक्षकका हैसियतले सचिवहरूले सम्पादन गर्नुपर्ने प्रशासनिक कामहरूमा निर्देशन दिने व्यवस्था छ।
विभिन्न मन्त्रालय तथा सम्बद्ध अन्य निकायमा प्रशासनिक कामकारबाहीको समन्वय गर्ने/गराउने, विभिन्न मन्त्रालय र अन्य केन्द्रीय निकायबीच समन्वय गर्ने, मन्त्रिपरिषद्को सचिवका रूपमा काम गर्ने तथा उक्त हैसियतमा मन्त्रिपरिषद्का निर्णय प्रमाणित गर्ने अधिकार पनि मुख्यसचिवलाई छ।
यसैगरी, मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न वा गराउन सम्बन्धित मन्त्रालयलाई परिचालन गर्ने, ती निर्णय कार्यान्वयन भए/नभएको सुपरीवेक्षण गर्ने, मुलुकको प्रशासनतन्त्रलाई चुस्त र फुर्तिलो बनाउन नेपाल सरकारका सचिव तथा अन्य कर्मचारीलाई उत्प्रेरित गर्ने अधिकार मुख्यसचिवलाई दिइएको छ।
सरकारको कामकारबाही प्रभावकारी बनाउन समय-समयमा सचिवहरूको बैठक गर्ने, बैठकबाट भएका निर्णय कार्यान्वयन गराउने, विभिन्न मन्त्रालय तथा केन्द्रीय तहका कार्यालयहरूको प्रशासनिक कामकारबाहीको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण गर्ने काम पनि मुख्यसचिवले गर्नुपर्छ।
विभिन्न मन्त्रालय वा निकायका सचिवले पेस गरेको प्रस्तावमा आवश्यक प्रक्रिया पुगे-नपुगेको जाँच गरी निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गर्ने, नेपाल पक्ष भएका द्विपक्षीय तथा बहुपक्षीय सन्धि-सम्झौता कार्यान्वयन भए-नभएको अनुगमन गर्ने अधिकार पनि मुख्यसचिवलाई रहेको छ।
प्रकाशित: १८ असार २०८३ २१:३४ बिहीबार





