जुम्लामा पहिलोपटक सवारी चालकमाथि गरिएको लागुपदार्थ परीक्षणमै झण्डै दुईतिहाइ चालक ‘पोजिटिभ’ भेटिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय जुम्लाले बिहीबार दिउँसो २ बजेदेखि सञ्चालन गरेको संयुक्त विशेष चेकजाँचका क्रममा परीक्षण गरिएका ८ जना चालकमध्ये ५ जनाले लागुपदार्थ सेवन गरी सवारी चलाइरहेको पुष्टि भएको हो। यसले जिल्लाको सडक सुरक्षा तथा लागू पदार्थको बढ्दो प्रयोगप्रति गम्भीर चिन्ता थपेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जगतबहादुर कठायतका अनुसार पहिलो दिन अटो, मोटरसाइकल, ट्र्याक्टर तथा अन्य सवारीका चालकलाई शंकाका आधारमा मादक पदार्थ र लागुपदार्थ परीक्षण गरिएको थियो। परीक्षणको नतिजाले जुम्लामा सवारी चालकबीच लागुपदार्थको प्रयोग बढ्दो अवस्थामा रहेको संकेत गरेको उनले बताए।

बढ्दो जोखिमलाई ध्यानमा राख्दै कर्णाली प्रदेशको सुर्खेतबाट १० वटा लागुपदार्थ परीक्षण किट माग गरिएको ट्राफिक प्रहरीका हवलदार दीपक खत्रीले जानकारी दिए। उनका अनुसार चोरीका सवारी सञ्चालन, लाइसेन्स र बिलबुकबिनाका सवारी तथा मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिएको हो।
हाल जिल्लामा कनकासुन्दरी–५ गोठिज्युला, हिमा–१ बड्की, तिला–३ रारालिही, तातोपानी–३ लिताकोट, पातारासी–६ उर्थु तथा अर्को एक स्थानसहित ६ ठाउँमा नियमित चेकपोस्ट सञ्चालनमा छन्। ती चेकपोस्टमा सवारीका कागजात, मादक पदार्थ तथा लागुपदार्थ सेवनसम्बन्धी परीक्षणलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।

संयुक्त चेकजाँचमा सहभागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनियर अहेब कर्मेन्द्र न्यौपानेले पहिलो दिनकै नतिजाले जुम्लाको अवस्था चिन्ताजनक देखाएको बताए। उनका अनुसार पहिलो दिनको तथ्यांकले करिब ५० प्रतिशत चालक लागुपदार्थ सेवन गरेर सवारी चलाउने गरेको संकेत गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म ९ सय ६८ सवारीसाधन कारबाहीमा परेका छन्। यस अवधिमा ४५ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन्। कारबाहीबाट ९ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
गत आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ६ सय ६२ सवारीसाधन कारबाहीमा परेका थिए। त्यस वर्ष ४९ वटा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो भने ८५ जना घाइते भएका थिए। सो अवधिमा १३ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरिएको थियो।

चालु आर्थिक वर्षमै जुम्लामा ८ सय ९० वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएका छन्। ती कार्यक्रमबाट १८ हजार ५ सय ५४ जना विद्यार्थी, पैदलयात्री, सवारी चालक, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासी लाभान्वित भएका छन्। ट्राफिक प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति नै दुर्घटनाको प्रमुख कारणका रूपमा देखिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेशमा ९ सय ६८ सवारी दुर्घटनामा १ सय ३९ जनाको मृत्यु भएको थियो भने ७ सय २ जना गम्भीर घाइते भएका थिए।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म प्रदेशभर १ हजार १ सय १५ सवारी दुर्घटना भइसकेका छन्। ती दुर्घटनामा १ सय २३ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ६५ जना घाइते भएका छन्। यस अवधिमा २५ हजार ६८ सवारीसाधन कारबाहीमा परेका छन् भने २ करोड २७ लाख ८२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।
हाल कर्णाली प्रदेशमा ४१ हजार ३ सय ८२ सवारीसाधन दर्ता छन्। कुल ९ हजार ७ सय १५.६६ किलोमिटर सडक सञ्जाल व्यवस्थापनका लागि २ सय २० जना ट्राफिक प्रहरी मात्रै परिचालन छन्। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म प्रदेशभर ६ हजार ८ सय २५ जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदा ४ लाख ४५ हजार ६ सय ८३ जना लाभान्वित भएका छन्।
तथ्यांकअनुसार कर्णाली प्रदेशमा अहिले पनि दैनिक ३ देखि ४ वटा सवारी दुर्घटना हुने गरेका छन् भने हरेक ३ देखि ४ दिनमा एक जनाले ज्यान गुमाउने गरेका छन्। यी तथ्यांकले प्रदेशमा सडक सुरक्षा चुनौती अझ गम्भीर बन्दै गएको देखाउँछन्।
प्रकाशित: १८ असार २०८३ २०:५७ बिहीबार





