२३ माघ २०८२ शुक्रबार
image/svg+xml
खेल

एरिका र विजय सर्वोत्कृष्ट

१९औं एसियाली खेलकुदकी रजत विजेता करातेकी एरिका गुरुङ र उसुका विजय सिन्जाली शनिबार एनएनआइपिए स्पोर्ट्स अवार्ड २०८० को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन्।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को १९औं संस्करणको अवार्डमा उसुका विजय पुरुषमा र करातेकी एरिका महिला सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। तार्केश्वर नगरपालिकाको मनमैजु मन्दिरमा भएको अवार्डमा २९ खेलका खेलाडीमध्ये दुई खेलाडी सर्वोत्कृष्ठ ठहरिए। यी दुवैले जनही एक लाख नगदसहित ट्रफी प्राप्त गरे।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले उनीहरूलाई पुरस्कृत गरेका हुन्। प्रतिभाशाली खेलाडीको अवार्डबाट पुरुषमा तेक्वान्दोका अश्विन राउत र महिलामा कबड्डीकी मानमति विष्टले प्राप्त गरे। दुवैले ट्रफीसहित समान ५० हजार नगद पुरस्कार प्राप्त गरे। तेक्वान्दोकी पलेशा गोबर्धनले वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डसहित नगद १५ हजार रूपैयाँ पाइन्।

गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट एथलेटिक्सका रघुराज वन्त र एनएनआइपीए खेल पत्रकारिता पुरस्कारबाट सरिता श्रेष्ठ सम्मानित भए। दुवैले प्रशंसापत्रसहित समान ३५ हजार नगद पुरस्कार पाए। अन्य २९ खेलका खेलाडीले पनि वर्ष उत्कृष्टको अवार्ड प्राप्त गरे। एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका कुशल मल्ल, रग्बीका पुजन फेवाली, आर्चरीका योगेन्द्र शेरचन, बास्केटबलका विजय बुर्जा, बक्सिङका चन्द्रबहादुर थापा र क्यानोइङका गणेश गुरुङ उत्कृष्ट वर्ष खेलाडी भए।

त्यस्तै साइक्लिङकी उषा खनाल, डान्स स्पोर्ट्सका श्याम महर्जन, इस्पोर्ट्सका साहस भण्डारी, फेन्सिङका राजेन्द्र गजुरेल, फुटबलकी प्रीति राई, गल्फका सद्भाव आचार्य, ह्यान्डबलकी संगीता चौधरी, जुडोका विकास विक, कबड्डीकी मानमति विष्ट, करातेकी एरिका गुरुङ, सुटिङका विपेश खड्का, स्क्वासकी स्वास्थानी श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसकी इभाना थापा, तेक्वान्दोका अश्विन राउत, टेनिसका निशान श्रेष्ठ, ट्रायथलनकी श्रेबी महर्जन, भलिबलकी निरुता ठगुन्ना, भारोत्तोलनकी विद्या राई, कुस्तीका सुरेश चुनारा र उसुका विजय सिन्जाली आफ्ना खेलमा उत्कृष्ट ठहरिए।

उत्कृष्ट सबैले ट्रफीसहित समान १० हजार नगद पुरस्कार पाए। तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, राखेप सदस्य अञ्जन धमला, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल र खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले पुरस्कृत गरे।  

प्रकाशित: २१ पुस २०८१ ०७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App