२३ माघ २०८२ शुक्रबार
image/svg+xml
सम्पादकीय

क्यान्सरको कहर

नेपालसहित समग्र विश्वले गत बुधबार विश्व क्यान्सर दिवस मनायो। क्यान्सरप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यसाथ हरेक वर्ष फेब्रुअरी ४ का दिन यो दिवस विश्वभर विविध कार्यक्रमसाथ मनाइन्छ। सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’पछि यो अभियानले विश्वव्यापी रूप लिएको हो।

क्यान्सर विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारकमध्ये एक हो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा मात्रै करिब एक करोड मानिसको मृत्यु क्यान्सरका कारण भएको थियो। यस हिसाबले विश्वका हरेक ६ मृत्युमध्ये एक क्यान्सरकै कारण हुने देखिन्छ। स्तन, फोक्सो, ठुलो आन्द्रा तथा मलाशय र प्रोस्टेट क्यान्सर सबैभन्दा धेरै देखिने क्यान्सरका प्रकार हुन्। करिब एकतिहाइ मृत्यु धूमपान, उच्च तौल, मद्यपान, फलफूल–तरकारी कम खाने बानी र शारीरिक गतिविधिको कमीका कारण हुने गर्छ। पछिल्ला वर्षमा बढ्दो क्रममा रहेको वायु प्रदूषण फोक्सोको क्यान्सरका लागि अर्को गम्भीर जोखिम कारक हो। धेरैजसो क्यान्सर समयमै पहिचान भई प्रभावकारी उपचार भए निको पार्न सकिन्छ भन्ने तथ्य नै विश्व क्यान्सर दिवसको मूल सन्देश हो। त्यो भन्दा पनि अझ महत्त्वपूर्ण पक्ष फेब्रुअरी ४ ले हरेक वर्ष हामीलाई एउटै प्रश्न सोध्छ– क्यान्सरसँग लड्न हामी कति तयार छौं?

विकसित देशमा क्यान्सर प्रारम्भिक चरणमै पहिचान भई उपचारबाट धेरै बिरामी निको भइरहेका बेला नेपालमा यो रोगको अवस्था चिन्ताजनक छ। क्यान्सर अनुसन्धान निकाय ग्लोबल क्यान्सर अब्जरभेटरी अर्थात्  ग्लोबोक्यानको सन् २०२२ को तथ्यांकअनुसार नेपालमा क्यान्सर भएकामध्ये करिब ७० प्रतिशत बिरामीको समयमै पहिचान नहुँदै मृत्यु हुन्छ। नेपालमा हरेक वर्ष २०–२५ हजार नयाँ बिरामी थपिनु र एक वर्षभित्रै १४–१६ हजारको मृत्यु हुनु स्वास्थ्य प्रणालीका गम्भीर कमजोरीतर्फ संकेत गर्छ। चिकित्सकहरूका अनुसार ८०–९० प्रतिशत बिरामी अन्तिम चरणमा मात्र उपचारमा पुग्ने प्रवृत्ति नै मृत्यु दर बढ्नुको मुख्य कारण हो।

नेपालका दुर्गम क्षेत्रका सर्वसाधारण घरेलु उपचार, झारफुक र परम्परागत उपायमा निर्भर रहँदा यो रोग झन् जटिल बन्छ।  नेपालमा फोक्सो, स्तन, पाठेघर, आन्द्रा, मलाशय, प्रोस्टेट र पेटका क्यान्सर बढी देखिन्छन्, जसको जोखिम मोटोपना, सुर्तीजन्य पदार्थ, मद्यपान र रसायनयुक्त खानाले अझ बढाएको छ। अझ त्यसमा परीक्षण सुविधाको अभाव, कतिपय जाँचका लागि विदेश पठाउनुपर्ने बाध्यता, दक्ष जनशक्तिको कमी, औषधिको सहज उपलब्धता नहुनु र राष्ट्रिय स्तरको एकीकृत तथ्यांक प्रणाली नबन्नु थप चुनौती बनेका छन्।

यद्यपि आशा जगाउने पहल पनि भएका छन्। सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार, सरकारी अस्पतालहरूको क्षमता वृद्धि, पाँच अस्पतालबाट बाल क्यान्सरको निःशुल्क उपचार, पाठेघरको मुखको क्यान्सर नियन्त्रणका कार्यक्रम तथा १५ लाख किशोरीलाई एचपिभी खोप उपलब्ध गराइनु सकारात्मक कदम हुन्। फागुनलाई निःशुल्क स्क्रिनिङ महिनाका रूपमा घोषणा गर्नु, महँगा औषधि सरकारी अस्पतालमार्फत निःशुल्क उपलब्ध गराउने व्यवस्था र रोगको फैलावट, अवस्था र उपचारको प्रभाव मूल्यांकन गर्न प्रयोग हुने अत्याधुनिक इमेजिङ परीक्षण ‘पेटिस्क्यान’  मेसिन जडानका योजना पूर्ण कार्यान्वयन भए उपचारको पहुँच अझ बढ्न सक्छ।

देश संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा क्यान्सर नियन्त्रण रणनीति स्थानीय तहसम्म लागु गर्नुपर्छ। सबै प्रदेशमा क्यान्सर दर्ता प्रणाली अनिवार्य गरी राष्ट्रिय तथ्यांक तयार पार्नुपर्छ, ताकि नीति प्रमाणमा आधारित होस्। प्राथमिक स्वास्थ्य केन्द्रमै प्रारम्भिक स्क्रिनिङ, स्वास्थ्यकर्मीलाई तालिम र मोबाइल क्लिनिकमार्फत दुर्गम क्षेत्रमा सेवा पुर्‍याउनु अत्यावश्यक छ तर यी प्रयासलाई दिगो राख्न राजनीतिक इच्छाशक्ति, पर्याप्त बजेट र प्रभावकारी अनुगमन अपरिहार्य छ।

यो सन्दर्भमा सचेतना नै क्यान्सरविरुद्धको पहिलो उपचार हो। विद्यालयको पाठ्यक्रममै क्यान्सरसम्बन्धी आधारभूत जानकारी समावेश गर्नु, समुदायस्तरमा निरन्तर अभियान चलाउनु र उपचारपछि निको भएका व्यक्तिलाई प्रेरक दूतका रूपमा परिचालन गर्नु प्रभावकारी उपाय बन्न सक्छ। धूमपान र तमाखु नियन्त्रण, स्वास्थ्य खानपान, नियमित हिँडडुल र सन्तुलित जीवनशैलीलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ।

विश्व क्यान्सर दिवस एक दिनको औपचारिकता होइन। यो  चेतावनी र अवसर दुवै हो। नेपालमा समयमै पहिचान र उपचार सुनिश्चित गर्न सके क्यान्सरबाट हुने मृत्युदर उल्लेख्य रूपमा घटाउन सकिन्छ। सरकार, स्वास्थ्यकर्मी, सरोकारवाला, समुदाय र नागरिक सबैले साझा जिम्मेवारी बोध गर्दै यो चुनौतीको सामना गर्न निर्णायक कदम चाल्नुपर्छ, त्यसो नगरे भोलि यसको मूल्य अझ महँगो पर्नेछ।  

प्रकाशित: २३ माघ २०८२ ०६:०२ शुक्रबार

Download Nagarik App
Download Nagarik App