काठमाडौंका शुभमजंग कुमार र चितवनका सोनाम महतोले दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शुक्रबार स्वर्ण पदक जितेका छन्।
टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका–५ को कार्यालयमा शुक्रबारदेखि सुरु भएको तेक्वान्दो लिगमा शुभमजंगले पुरुष र सोनामले महिला फाइटमा स्वर्ण पदक जितेका हुन्।
शुभमले ४६ देखि ५० केजी तौलसमूहको फाइनलमा काठमाडौंका करण डोलीलाई हराए। यस तौलमा नुवाकोटका रोमन खत्री र काठमाडौंका स्वीकार रजकले कांस्य पदक जिते। सोनामले भने महिला ४० देखि ४३ केजी तौलसमूहमा स्वर्ण जितेका हुन्। उनले फाइनलमा नुवाकोटकी निर्मला तामाङलाई हराइन्। काठमाडौंंका सम्पदा सिवाकोटी र स्भियुक्ताले संयुक्त रूपमा कांस्य पदक प्राप्त गरे।
शुक्रबार नै एक कार्यक्रमका बीच काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले प्रतियोगिताको उद्घाटन गरेका थिए। लिगमा पुरुष/महिलामा समान पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा गर्दै छन्।
पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछन्। महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजीमा प्रतिस्पर्धा तय गरिएको छ। करिब तीन सय खेलाडीको सहभागिता रहने एसकेबिसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रञ्जित डगौराले जानकारी दिए।
प्रकाशित: २० पुस २०८१ १०:४० शनिबार