२३ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

चेस पार्कलाई राष्ट्रिय टिम चेस उपाधि

थापाथली चेस पार्क क्लब मंगलबार सातौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियन भएको छ।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा भएको प्रतियोगितामा चेस पार्कले फाइनलमा ललितपुर स्पोर्ट्स क्लबमाथि कठिन जित हात पार्दै उपाधिमा ह्याट्रिक गर्न सफल भएको हो। चेस पार्कले क्लासिकल ९० मिनेट ३० सेकेन्ड इन्क्रिजमेन्टको गेममा २–२ अंक बराबरी गर्दै र्‍यापिड चरणसम्म धकेल्न सफल बनेको थियो।

क्लासिकल खेल रोमाञ्चक मोड लिँदै बराबरीमा टुंगिएको थियो। पहिलो बोर्डमा चेस पार्कका फिडेमास्टर रिजेन्द्र राजभण्डारीले स्पोटर्स क्लबका क्यान्डिडेट मास्टर सजिन महर्जनसँग हार बेहोरेका थिए। चौथो बोर्डको स्पर्धामा नेसनल वुमन च्याम्पियन सिन्दिरा जोशी विनीता कपालीसँग पराजित हुन पुगिन्।

टिम गेममा चेस पार्कले २ अंक गुमाउँदाको दबाब झेल्दै दोस्रो बोर्डमा खेलेका सुशील चौधरीले शैलेन्द्र न्यौपानेमाथि जित दर्ता गरी एक अंकको खाता खोले। तेस्रो बोर्डमा आशिष फुँयालले रिसोन थापाविरुद्ध टाइम आउट गराउँदै टिमको स्कोर २–२ बनाए।

लगत्तै प्रतिस्पर्धा र्‍यापिड चरण प्रवेश भएको थियो, जहाँ रिजेन्द्र राजभण्डारी पुनः सजिनसँग पराजित भए। चेस पार्कका अन्य खेलाडी सुशील चौधरी, आशिष फुँयाल र सिन्दिरा जोशीले आआफ्नो खेल जितेर ३–१ अंकको स्कोर बनाउँदै उपाधि जित्नमा योगदान पुर्‍याए।

विजेता बनेसँगै चेस पार्कले दुई लाख रूपैयाँ प्राप्त गर्‍यो। ललितपुर स्पोर्ट्स क्लबले एक लाख २० हजारमा चित्त बुझायो।

प्रकाशित: १७ पुस २०८१ १०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App