कोसी प्रदेशबाट आस्था कलेजले मंगलबार ई-प्लानेट नेसनल हाइस्कुल च्याम्पियनसिपमा स्थान बनाएको छ। इटहरीस्थित जनता क्रिकेट मैदानमा भएको छनोटको फाइनलमा आस्था कलेजले सुष्मा गोदावरीलाई सात विकेटले पराजित गर्दै काठमाडौंको यात्रा तय गरेको हो।
योसँगै आगामी माघ २३ गतेदेखि मूलपानी क्रिकेट मैदानमा हुने च्याम्पियनसिपमा छनोट हुने आस्था कलेज दोस्रो टोली बनेको छ। यसअघि बागमती प्रदेश छनोटबाट अर्किड कलेजले प्रतियोगितामा स्थान बनाइसकेको छ।
फाइनलमा सुष्मा गोदावरीले दिएको ६३ रनको लक्ष्य आस्था कलेजले ५.४ ओभरमा तीन विकेट मात्र गुमाएर भेटायो। आस्थालाई जित दिलाउन भूपाल दंगालले १२ बलमा सर्वाधिक ३२ रन बनाए। यस्तै, सौजन घिमिरेले १४ रनको योगदान दिए। गोदावरीका नाजिर आलमले दुई विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
त्यसअघि टस जितेर ब्याटिङ गरको सुष्मा गोदावरीले निर्धारित १० ओभरमा सबै विकेट गुमाउँदै ६२ रनको योगफल तयार गरेको थियोे। सुष्मा गोदावरीका नजिरले ब्याटिङमा पनि २० रनको योगदान दिएका थिए।
अन्जुल मेहताले १६ रन बनाउँदा अन्य खेलाडी चल्न सकेनन्। त्यसैले नाजिरको अलराउन्ड प्रदर्शन खेर गयो। ‘प्लेयर अफ द फाइनल’ घोषित आस्था कलेजका सौजन घिमिरेले तीन विकेट लिए। छनोटको उपाधिसहित आस्था कलेजले ५० हजार रूपैयाँ प्राप्त गर्यो।
कोसी प्रदेश छनोट प्रतियोगितामा सुष्मा गोदावरी तथा आस्था कलेजसहित कस्तुरी कलेज, इटहरी नमुना, नवदीप एकेडेमी र मेरिल्यान्ड कलेज सहभागी थिए। प्रतियोगिताको आगामी छनोट मधेस प्रदेशमा पुस १८ गते जनकपुरमा सुरु हुनेछ। त्यसपछि लुम्बिनी छनोट बुटवलमा पुस २३ गते, गण्डकी छनोट पोखरामा पुस २६, दोस्रो बागमती प्रदेश छनोट काठमाडौंमा माघ ३ गते, कर्णाली छनोट सुर्खेतमा माघ १० गते र सुदूरपश्चिम छनोट धनगढीमा माघ १७ गतेबाट हुनेछ। माघ २३ देखि २६ गते राष्ट्रिय फाइनल काठमाडौंमा आयोजना हुने तालिका छ।
प्रकाशित: १७ पुस २०८१ १०:०० बुधबार