२२ पुस २०८१ सोमबार
image/svg+xml
कला

डरैडरमा मातृत्व

कैफियत

लगभग तीन महिने शिशुलाई उपचार गराउन कान्ति बाल अस्पताल बसमा लैजाँदै गरेकी आमाको काखमा शिशु जोडसँग रोइरहेको थियो। मैले भनेँ– दिदी, बच्चालाई दुध दिनुस् न, धेरै पो रोयो त।

उनले मुसुक्क हाँस्दै भनिन्– भिड छ, अप्ठ्यारो लाग्छ। अब एकै छिन त हो। अस्पताल आइपुगिहाल्यो। उनलाई धेरै चोटि अप्ठ्यारो परेको रहेछ सार्वजनिक ठाउँमा बच्चालाई दुध चुसाउँदा। अर्की प्रतिनिधि पात्रले पनि भनिन्– हो नि, एकचोटि सफा टेम्पोमा मैले पनि दुध चुसाउँदा कति गाह्रो भएको थियो, सबैका आँखा मैमा नै।

शिशुलाई आफ्नो स्तनपान गराउन पनि कतै डर छ, कतै अड्चन छ। कतिले चाहेर पनि विवशताले आफ्नो बच्चालाई स्तनपान गराउन पाएका छैनन्। कारण धेरै छन्। रहर छ आमाको तर कामले गर्दा दुध पाउँदैनन् शिशुहरूले। बाध्यताले बच्चालाई आफ्नो दुध दिन पाइँदैन। महिलाहरूलाई यो पनि एउटा परीक्षाजस्तै भएको छ। छाती चर्कन्छ दिउँसोभरि तर कामले गर्दा बच्चालाई आफ्नो दुध चुसाउन पाउँदैनौं। निचोरेर फाल्नुपर्छ। उता बच्चाले दुध पाउँदैन, आमालाई पीडा छ के गर्नु।

हुन पनि हो, एउटी महिलाका लागि आफ्नो बच्चा र बच्चाको भोक कस्तो हुन्छ, रुवाइबाट नै थाहा हुन्छ। त्यो आमाले मात्र महसुस गर्न सक्छिन्। तर कतै कतै आधुनिक आमाहरू बच्चालाई दुध पिलाउँदा आफ्नो शरीर बिग्रन्छ भनेर बच्चालाई ठाडै राख्ने गरेको पनि नपाइएको भने होइन।

नवजात शिशुका लागि आमा र आमाको दुध धेरै महत्त्वपूर्ण हुन्छ। कसले के भन्ला र के गर्ला भन्दा पनि सहज भएसम्म आफ्नो सानो बच्चालाई सन्तुष्टि दिनु नै आमाको मूल कर्तव्य र पहिलो प्राथमिकता हो। सन्तानका लागि आमा नै भगवान् हुन्।

केही वर्षअगाडि क्यानडामा एक महिला सासंदले ससंद् बैठक चलिरहेको बेला कुुर्सीमै बसेर बच्चालाई दुध चुसाइरहेको भिडियो सार्वजनिक भएको थियो। अस्ट्रेलियामा एक महिला सांसदले बैठकमा आफ्नो बच्चालाई दुध चुसाउँदै उठेर भाषण गरेको तस्बिरले पनि निकै चर्चा पाएको थियो।

आइसल्यान्डमा एक महिला सासंदले बच्चालाई दुध चुसाउँदै गरेको सम्बोधनले पनि नारी शक्तिको परिचय दिएको थियो। अजेन्टिनाकी भिक्टोरिया डोना परेज स्पेनकी क्यारोलिना बेलायतीकी एन्नेलिज डोड्स, इटालीकी लिसिया रोन्जुली उदाहरणीय आमा थिए जसले मातृत्वको पहिचान देखाएका थिए।

यति मात्र होइन, सामान्य धेरै महिलाहरू पनि छन् जसले सडकमा आफ्नो व्यापारका साथै आफ्नो शिशुलाई पनि स्तनपान गराएको देखिन्छ। ठेलामा काम गरेका महिलाले पनि यी काम गरेका छन्। जसले आफ्नो काम र आमाको भूमिका निभाएका छन्। यस्ता उदाहरणहरू हामीले देखेका र भोगेका नै छौं। सम्भव भएसम्म त आफ्नो शिशुले मातृत्वको सुख लिऊँ जस्तो लाग्छ तर के गर्नु यति बाध्यता छ कि काम पनि छोड्न सकिँदैन, बाध्यताले आफ्नो बच्चालाई दुध दिन नसकेर निराश हुने आमाहरू पनि धेरै छन्।

डेढ महिनाकी काखे छोरी छोडेर बुहारी काममा जान्छे साँझ ६ बजे कार्यालय छुटेर आउँदा सात आठ नै बज्छ। बट्टाको दुध खुवाएर राखेकी छु। के गर्नु प्राइभेट काम, सुत्केरी नै छे गाह्रो छ। काम छोडिहाले पाइँदैन, काम गर्नै पर्‍यो। आमाको मायाजस्तै दिन खोज्नु नातिनीलाई तर आमा भनेको आमा नै हुन्छिन्। आमाको दुध पिउन पाए कति स्वस्थ हुन्थे तर काम पनि गर्नै प¥यो। बिदा पाउँदिन, गाह्रो छ।

धेरै महिला काम गर्छन्, सरकारी सेवासरह सुविधा पाउने महिलालाई त ठिकै छ, नभए ज्याला मजदुरी गर्ने महिला धेरै छन्। यस्ता आमाहरूका लागि गाह्रो छ। एक त सुत्केरी बिदा पनि दिन गाह्रो मान्छन्, दिए पनि एक र डेढ महिना पनि दिँदैनन्।

कि त काम छोड्नुपर्ने हुन्छ, कि त बच्चालाई बट्टाकै दुध खुवाउनुपर्ने हुन्छ। महिलालाई एक त काम छोड्यो, पछि काम पाउन गाह्रो हुन्छ। उपाय पनि हँुदैन, एक प्राइभेट कम्पनीको कर्मचारीले भनिन्– एक महिना बिदा बसेको थिएँ, सुत्केरी बिदा त पाइएन पाइएन, रकम पनि दिएन। तर थप बेतलबी बिदा माग्दा कि छोड्नुस् कि आउनुस्, हाम्रो नियम छैन काम नगरेको रकम दिने भने। यस्ता धेरै कम्पनीका महिलाहरू गुनासो हुनेगरेको छ।

आमाको दुध नपाएर कुपोषणको सिकार भइरहेका छन् धेरै नवजात शिशुहरू। आमाको पोसिलो दुध त बाध्यताले पाएनन् तर आमाको छाति गानिएर काम गर्दा दुधलाई निचोरेर फालेको कथा सुनाउने आमाहरू छन् धेरै। यस्ता प्राइभेट कम्पनीहरू छन् जो सुत्केरीमाथि पनि अन्नाय गरेको पाइएको छ।

एउटा विवरणअनुसार आमाको पोसिलो दुध नपाएर विश्वमा ६ करोडभन्दा बढी नवजात शिशु उच्च जोखिममा पर्ने गरेका छन्। रिपोटअनुसार हरेक पाँचमध्ये दुई जनाले मात्र आमाको पोसिलो दुध पाएका छन्।

स्तनपानले बच्चाको रोग प्रतिरोधी क्षमता बढ्नुका साथै स्वस्थ रूपमा वृद्धि र विकासका लागि पोषण तत्त्व प्रदान गर्छ। अर्को कुरा स्तनपानले आमालाई मधुमेह क्यान्सरको जोखिमबाट पनि बचाउँछ तर स्तनपान गराउँदा महिलाको सुन्दरता बिग्रने र शरीरको बनावट लुज हुने गलत धारणा फैलिएको छ। यसले नकारात्मक सन्देश पनि फैलिरहेको छ।

स्तनपानले आमालाई दिने आनन्द, आत्मीयता, भावनात्मक सहानुभूतिले एक अर्कामा पे्रम बढाएकै हुन्छ। सकेसम्म सहयोग र साथ दिन सके हरेक सुत्केरी आमाले आफ्नो बच्चालाई स्तनपान गराउन पाउँथे। हरेक आमाको यो चाहनालाई सबैले साथ दिऔं।  

प्रकाशित: २० पुस २०८१ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App