२३ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

मदन भण्डारी गोल्डकप भलिबलको ट्रफी अनावरण

मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिप बुधबारदेखि सुरु हुने भएको छ।

मदन भण्डारी स्पोटर्स एकेडेमीले गत मंसिरमै तय गरेको १८ खेलका राष्ट्रिय प्रतियोगितामध्ये भलिबल पहिलो प्रतिस्पर्धा हो। एकेडेमीले भलिबलसँगै फुटसल, तेक्वान्दो, टेबल टेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो र हक्की खेलको राष्ट्रिय प्रतियोगिता विभिन्न जिल्लामा आयोजना गर्ने तय गरेको थियो। तीमध्ये पुरुष भलिबल बुधबार बुटवलमा हुन लागेको हो। प्रतियोगिताको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

एकेडेमीले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै ट्रफी अनावरण गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दियो। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य लीला गिरी, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे र एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले ट्रफी अनावरण गरेका छन्।

बुटवल रामनगर खेलमैदानमा आगामी पुस २४ गतेसम्म उक्त खेल हुनेछन्। पुरुष भलिबल प्रतियोगितामा तीन विभागीय नेपाल पुलिस, आर्मी, सशस्त्रसहित कुल ८ टोलीबीच प्रतिस्पर्धा हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए।

आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गुजरात स्टेट भलिबल एसोसिएसन, मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। विजेताले ट्रफी, रनिङ र सात लाख, उपविजेताले तीन लाख ५० हजार, तेस्रोले एक लाख ७५ हजार र सान्त्वना हुने टोलीले एक लाख रूपैयाँ पाउने अध्यक्ष आचार्यले जानकारी दिए।

काठमाडौं बाहिर पहिलोपल्ट सर्वाधिक राशिको भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो। एकेडेमीको १६औं स्थापना दिवसको अवसरमा हुने च्याम्पियनले नगद पुरस्कारसँगै रनिङ पाउनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधामा रूपमा समेत पुरस्कृत गरिने भएको छ। भलिबल प्रतियोगितामा एक करोड ६० लाख रूपैया खर्च हुने आयोजकको अनुमान गरिएको छ।

गल्कोट भलिबल क्लब विदेशी खेलाडीसहित सहभागी हुने भएको छ। उक्त टोलीमा चार जना इरानी खेलाडीहरू छन्। कार्यक्रममा एकेडेमीका सचिव कृष्ण तिमिल्सिना, सचिव अमृता अनमोलले प्रतियोगितासंग पूर्वाधार विकास र खेल प्रशिक्षणलाई समेत जोड दिँदै आएको बताए।

प्रकाशित: १७ पुस २०८१ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App