१७ पुस २०८१ बुधबार
image/svg+xml
खेल

नेपालको निराशाजनक प्रदर्शन

जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज

भारतीय खेलाडीविरुद्ध सर्भिस गर्दै नेपालका दिलाशा राना र रिहाना शेरचन। तस्बिर: नागरिक

नेपालले घरेलु कोर्टमा शुक्रबारदेखि सुरु नेपाल जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा निराशाजनक प्रदर्शन गरेको छ।

यसअघि एक दिन अगाडिसम्म सिनियर च्यालेन्जमा नेपालले एक कांस्य पदक जितेको थियो। सिंगल्सका सबै चुनौती पहिलो खेलमा नै समाप्त हुँदा मिक्समा नेपाल नम्बर एक जोडी प्रिन्स दाहाल र रसिला महर्जनको जोडीले एक मात्र पदक दिलाएको हो। नेपाल ब्याडमिन्टन संघको आयोजनामा शुक्रबारदेखि सुरु जुनियरमा पनि घरेलु टोलीका कुनै पनि खेलाडीले जित निकाल्न सकेनन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको यस सिरिजमा नेपालबाट समान आठ महिला र पुरुषले कुल पाँच विधामा चुनौती प्रस्तुत गरेका छन्। यीमध्ये मिक्स डबल्समा सुबिन श्रेष्ठ र दिलाशा रानाको जोडी तथा महिला डबल्समा रक्षा फगामी र आश्मा श्रेष्ठको जोडी क्वार्टरफाइनलमा पुगेका छन्।

सुबिनको जोडी भारतीय प्रतिद्वन्द्वीबाट रिटायर्ट हर्ट हुँदा दोस्रो चरणमा पुगेको हो। महिला डबल्समा भने रक्षा र आश्माको जोडीले पहिलो खेलमा बाई पाएको हो। त्यसबाहेक शुक्रबार नेपालले कुल १५ खेलमा नै हार सामना गर्नुपर्‍यो।

मिक्सको राउन्ड अफ ३२ मा नेपालका कविर महर्जन र रिहान शेरचन भारतका खेलाडी योगांश सिंह र वर्णप्रभु आनन्दसँग पराजित भए। कविर र रिहानाको जोडी २१–१४, २१–१५ ले पराजित भयो। पुरुष सिंगल्समा नेपाली खेलाडीले खराब प्रदर्शन गरे। नेपालका सक्षम ढकाल भारतका ध्यान सन्तोषसँग २१–८ को समान अन्तरमा पराजित भए।

सुविन श्रेष्ठ ‘बी’ भारतका अंश नेगीसँग २१–१०, २१–१२ तथा सुप्रिम पन्त पनि भारतकै साइ रिस्वन्त लादेसँग २१–१६, २१–१७ ले पराजित भए। यसै विधामा कविर केसी पनि भारतीय खेलाडी दीपान्शुसँग २१–१६, २१–१५ को हार सामना गर्न बाध्य भए।

महिला सिंगल्समा रक्षा फगामीले राउन्ड अफ ३२ मा बाङ्लादेशकी जरिना इकवाल मोहनालाई चुनौती दिने प्रयास गरे पनि सफल भइनन्। उनले पहिलो सेट २१–१८ ले जितेकी थिइन्। तर, त्यसपछि दोस्रो सेट २१–१२ र तेस्रो २१–७ ले गुमाएपछि रक्षाको यात्रा पनि अगाडि बढ्न सकेन। यसै विधाको राउन्ड अफ ३२ मा स्वर्लिन श्रेष्ठ भारतकी हसिनी वर्मा कोन्दुरुसँग २१–१२, २१–७ ले सहजै पराजित भइन्।

महिला सिंगल्समा नै रिहाना शेरचन भारतकी दिया भिमैयासँग २१–८, २१–९ तथा श्रीया वज्राचार्य भारतकी बरुनी पर्सवालसँग २१–६, २१–१३ को हार सामना गर्न बाध्य भए। दिलाशा राना पनि राउन्ड अफ १६ मा थाइल्यान्डकी पिमचानोक सुथिभिरियाकुलसँग २१–१२, २१–६, निभा राई भारतकी इशिता नेगीसँग २१–६, २१–८ तथा टिसारानी शाक्य थाइल्यान्डकै पिराया वेचावाङसँग २१–९, २१–४ ले पराजित भए। पुरुष डबल्समा नेपालका अरूण अधिकारी र सौर्य महर्जनको जोडी भारतका भाव्य चाबरा र परम चौधरीको जोडीसँग २१–११, २१–१० ले पराजित भयो।

यसै विधामा कविर केसी र सुविन श्रेष्ठ (बी) को जोडीले भारतकै सी लालराम र सौरभ साउसँग २१–१०, २१–१९ ले हार सामना गरे। महिला डबल्समा दिलाशा र रिहानाको जोडी भारतका अक्षिता मनरल र वर्णप्रभु आनन्दसँग २१–१० को समान अन्तरमा पराजित भयो।

 नेपालका रक्षा फगामी र आस्ना श्रेष्ठको जोडीले पनि भारतकै इशिता र भान्सिका ठाकुरको जोडीसँग २१–६, २१–५ ले सहजै हार सामना गर्‍यो। यसै विधामा श्रीया वज्राचार्य र निभा राईको जोडी थाइल्यान्डका सुनिशा लेकजुरा तथा अनन्या नापालाईसँग २१–११, २१–५ ले पराजित भयो। तीनदिने सिरिजमा नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, इरान र संयुक्त अरब इमिरेट्सका गरी कुल ९९ खेलाडीले कुल पाँच विधामा प्रतिस्पर्धा गरिरहेका छन्।  

प्रकाशित: १३ पुस २०८१ ११:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App