१७ पुस २०८१ बुधबार
image/svg+xml
खेल

नीरजलाई इस्टर्न ओपन उपाधि

धरानका प्रोफेसनल गल्फर नीरज तामाङले निकटतम प्रतिद्वन्द्वीमाथि फराकिलो अन्तर बनाउँदै शुक्रबार सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन्।

पार–७० को धरान गल्फ क्लबमा नीरजले कुल स्कोरको रेकर्ड बराबरी गर्दै सूर्य नेपाल गल्फ टुर २०२४–२५ को तेस्रो प्रतियोगिता इस्टर्न ओपनको उपाधि उचालेका हुन्। उनले धरानकै प्रोफेसनल शुक्रबहादुर राईको रेकर्ड (१७ अन्डर १९३) बराबरी गर्दै करियरको दोस्रो उपाधि जिते।

फाइनलमा नीरजले पाँच अन्डर ६५ को उत्कृष्ट स्कोर गरे। यससँगै उनले निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद शर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उपाधि उचाले। उपाधिसँगै नीरजले एक लाख ५० हजार पाउँदा विष्णुप्रसादले एक लाख रूपैयाँमा चित्त बुझाए। विष्णु समग्रमा सात अन्डर २०३ स्कोरसहित दोस्रो भएका हुन्। उनले अन्तिम दिन दुई अन्डर ६८ को प्रदर्शन गरे।

धरानका बलभद्र राई समग्रमा तीन अन्डर २०७ सहित तेस्रो भए। उनले ७५ हजार रूपैयाँ पुरस्कार पाए। बलभद्रले एक ओभर ७१ स्कोरमा रहेर अन्तिम दिनको खेल पूरा गरेका थिए। भुवन नगरकोटी र रवि खड्का समग्रमा दुई अन्डर २०८ सहित संयुक्त रूपमा चौथो स्थानमा रहे।

एमेच्योरतर्फ धरानकै सुमन परियारले सुन्दर राईलाई दुई स्ट्रोकले हराउँदै उपाधि जिते। सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर केशव प्रधानलगायतले विजेतालाई पुरस्कृत गरे। शनिबार प्रो–एम इभेन्ट हुनेछ। 

प्रकाशित: १३ पुस २०८१ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App