१४ पुस २०८१ आइतबार
image/svg+xml
खेल

युथ लिगमा एकै दिन १३ गोल

ललित स्मृति एन्फा यु–१८ युथ लिगमा बिहीबार एकै दिन १३ गोल भएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको २१औं खेलमा संकटाले मच्छिन्द्र फुटबल क्लबलाई ४–० र विभागीय डर्बीमा सशस्त्र प्रहरी बल (एपिएफ) ले त्रिभुवन आर्मी क्लबलाई ७–२ ले हराएका हुन्।

जितसँगै तेस्रो स्थानको संकटाले दोस्रो स्थानमा रहेको न्युरोड टिम (एनआरटी)सँगको अंकदूरी दुईमा झारेको छ। २१ खेल खेलेको संकटाको ४२ अंक छ भने एनआरटीले ४४ अंक पुर्‍याएको छ।

अन्तिम खेलमा संकटाले एपिएफसँग र एनआरटीले एक खेलअगावै लिग जितिसकेको विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछन्। यता, पराजित मच्छिन्द्रको ३४ अंक र एपिएफको ३२ अंक रहँदा १८ अंक रहेको आर्मीले १०औं स्थानमा रहेर लिग सक्काउने पक्का भएको छ।

संकटालाई १३औं जित दिलाउन दिलान लिम्बूले दुई गोल गरे। यस्तै, दिवस राई र कृष्णबहादुर आलेले समान एक गोल गरे। २२औं मिनेटमै दिवसको गोलमार्फत संकटाले सुरुआती अग्रता लिएको थियो। त्यसको १२ मिनेटपछि नै दिलानले अर्को गोल गर्दै संकटालाई पहिलो हाफमा २–० को अग्रता दिलाए। ५९औं मिनेटमा कृष्ण र त्यसको १० मिनेटपछि दिलानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै संकटालाई फराकिलो जित दिलाए।

अर्को खेलमा एपिएफलाई फराकिलो जित दिलाउन सञ्जय योञ्जन र सुनील थिङले समान दुई गोल गरे। रोहित घले, किशोर गुरुङ र विवेक पछिमा थारूले एकएक गोल थपे। आर्मीका लागि रोहित क्षेष्ठले दुई गोल गरे पनि टोलीका लागि सान्त्वना रह्यो।

आर्मीले खेलको ३५औं मिनेटसम्म एपिएफलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, अर्को मिनेटमै सञ्जयले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाए। सोही गोलसँगै एपिएफ पहिलो हाफसम्म १–० ले अगाडि थियो। तर, दोस्रो हाफमा एपिएफले ६ गोल थप्दा आर्मीले दुई गोल फर्कायो। ५१औं मिनेटमा रोहित, ६२औं मिनेटमा किशोर र ७३औं मिनेटमा सुनीलले गोल गर्दै अग्रता ४–० मा पुर्‍याएका थिए।

७८औं मिनेटमा मौसम रोक्काले दोहोरो पहेंलो कार्ड पाउँदा आर्मी १० खेलाडीमा समेटियो। त्यसको तीन मिनेटपछि नै आर्मीका रोहित श्रेष्ठले गोल गर्दै खेल ४–१ मा ल्याए। तर, सञ्जय, सुनील र विवेकले तीन मिनेटमा तीन गोल गर्दै एपिएफको अग्रता ७–१ मा पुर्‍याए। इन्जुरी समयको छैटौं मिनेटमा रोहितले अर्को गोल थपे पनि एपिएफ ७–२ ले विजयी भयो।

प्रकाशित: १२ पुस २०८१ ०९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App