एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुरुप २६१२ वटा शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
यी सामग्रीहरु ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिने छ । शनिबार सकिएको एनपीएलमा कुल ६५३ चौका हानिका थिए । यसवापत एनसेल फाउन्डेसनले २ हजार ६१२ वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्ने भएको हो ।
क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ । विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुने एनसेलले जनाएका छ । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ ।
एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टस्का लाहिरु मिलान्थाले हानेका छन् । उनले कुल ३५ चौका हानेर १४० वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । त्यस्तै पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३०, लुम्बिनी लायन्सका रोहितकुमार पौडेलले २६, चितवन राइनोजका रवी बोपारा र सुदूरपश्चिम रोयल्सका सैंफ जैब २४ २४ चौका प्रहार गरेका थिए ।
“क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिककार्य दुवैका हिसाबले यो एनपीएल एकदमै उत्साहजनक रह्यो । क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोड्दै शिक्षाको लागि स्रोत आवश्यक रहेका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गर्न यो पहलकदमी गर्न पाउँदा हामी अत्यन्त खुसि छौ र यसको लागि हामी क्रिकेट एशोसिएसन नेपाल (क्यान) तथा प्रत्येक खेलाडीलाई बधाई तथा धन्यवाद दिन चाहन्छौं । शैक्षिक सामग्री वितरणको लागि हामी क्यान, सम्बन्धित टिमहरु अन्य सरोकारवालाहरुसँग सहकार्य गर्नेछौं,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन् ।
सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरुसम्म यी सामाग्रीहरु पुर्याउन एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गर्ने जनाएको छ।
प्रकाशित: ८ पुस २०८१ १८:४७ सोमबार