कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सकिने चरणमा पुगेको छ। यो लिग इतिहास बनाउने सँघारमा रहँदा फुटबलको माहोल भने ठीक विपरीत छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र नौ क्बलबीचको टकराबले बर्सेनि हुनुपर्ने ‘बी’ डिभिजन लिगको अस्तित्वसम्म मेटिने क्रममा छ। पछिल्लोपल्ट २०७८ फागुनदेखि चैतसम्म यो लिग भएको थियो।
सिंगल राउन्ड रोबिनमा भएको उक्त लिगको विजेता बन्दै चर्च बोइज युनाइटेड र उपविजेता बन्दै खुमलटार एफसी शीर्ष डिभिजनमा उक्लिएका थिए। चर्च बोइज करिब दुई वर्षअघि भएको ‘ए’ डिभिजन लिगको च्याम्पियन हुँदा खुमलटार रेलिगेसनमा पर्दै घटुवा भइसकेको छ। तर, एन्फा र क्लबबीच तिक्तताले साढे तीन वर्षपछि हुने भनिएको ‘बी’ डिभिजन लिग फेरि अन्धकारतर्फ धकेलिएको छ।
लिग निर्देशक सञ्जीव मिश्रका अनुसार माघ १३ गतेदेखि हुने भनिएको लिगका लागि तोकिएको मितिमा क्लबले टिम दर्ता नगरेसँगै समस्या थप जटिल बनेको हो। ‘हामीले लामो समयपछि लिग गर्ने क्लबसँग सहमति गरेका थियौं। त्यही अनुसार मंसिर २१ गतेसम्म टिम दर्ता गर्न क्लबलाई भनेका थियौं। तर, पाँचभन्दा बढी टिम दर्ता भएनन्। अर्कोपल्ट पनि समय दियौं। तर, बाँकी नौ क्लब टिम दर्ता गर्न आइदिएनन्,’ उनले भने।
लिगको पिरामिड नै भत्किने संघारमा पुगेपछि एन्फाले गत मंसिर २१ गतेसम्म टिम दर्ता गर्ने समयसीमा दिएको थियो। टिम दर्ता भएपछि पुस १३ गते खेलतालिका प्रकाशन गर्ने एन्फाले तयारी गरेको थियो। तर, उक्त समयसीमाभित्र झापा फुटबल क्लब, बाँसबारी क्लब, प्लानिङ बोइज युनाइटेड क्लब, श्री भगवती क्लब र श्री कुमारी क्बल मात्रै दर्ता भएको मिश्रले जानकारी दिए।
लिग हुने पक्का भएसँगै एन्फाले मंसिर २० गते क्लबहरूले पाउनुपर्ने बक्यौतासमेत उपलब्ध गराएको थियो। एन्फा प्रवक्ता सुरेश शाहका अनुसार १४ क्लबले २०७८ को लिग हुँदा नै तयारी खर्चबापत एन्फाबाट समान ६ लाख ५० हजार रुपैयाँ लिन बाँकी थियो। यो रकम फुकुवा गरेसँगै पुरानो लिगअन्तर्गत पाउनुपर्ने १२ लाख ५० हजार रुपैयाँको सम्पूर्ण दायित्व एन्फाबाट पूरा भएको थियो। अझ एन्फाले यस वर्ष ‘बी’ डिभिजन क्लबलाई तयारी खर्चबापत १४ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो।
नयाँ सिजनका लिगका लागि झापा, प्लानिङ बोइज, बाँसबारी, श्री भगवती, श्री कुमारी र वीरगन्ज युनाइटेडले तयारीबापतको पहिलो किस्ताको रकम आठ लाख ७० हजार रुपैयाँसमेत बुझिसकेका छन्। तर, रानीपोखरी कर्नर टिम (आरसिटी), बिग्रेड बोइज क्लब, मध्यपुर युथ एसोसिएसन, नयाँ बस्ती क्लब, सरस्वती युवा क्लब, टुसाल क्लब र बोइज युनियन रकम बुझ्न एन्फा पुगेका छैनन्। यस्तै, तयारी रकम लिए पनि वीरगन्जले पनि टिम दर्ता गर्न अटेर गरिरहेको छ। त्यसैले एन्फाले मंसिर २८ गतेसम्म टिम दर्ता गराउन पुनः समय थपेको थियो। त्यो मितिमा पनि नौ क्लब नआएपछि दोस्रोपल्ट पुस ३ गतेसम्मको समयसीमा थप गरिएको छ।
‘हामीले शुक्रबार क्लबलाई बैठकमा पनि बोलाएका थियौं। तर, प्लानिङ बोइज, बाँसबारी, श्री भगवती र श्री कुमारी मात्रै उपस्थित भए। अन्य कुनै क्लबका प्रतिनिधि नआएपछि बैठक स्थगित भयो,’ निर्देशक मिश्रले भने। सरस्वती क्बलका अध्यक्ष उत्तम राजभण्डारी भने एन्फाले पटक पटक लिगको मिति घोषणा गर्दै आफूखुसी रद्द गरेको कारण फेरि अन्योलता थपिएको बताउँछन्।
‘हाम्रो माग भनेको बर्सेनि लिग हुनुपर्छ, खेल्न पाउनुपर्छ भन्ने नै हो। तर, एन्फा खोइ त पोजेटिभ भएको? २०८० मा लिग गर्छौं भनेर हामीले तयारी गर्यौं। तर, पटकपटक मिति सारेर एन्फाले गर्न सकेन। त्यसको क्षतिपूर्ति खोइ?,’ उनले प्रश्न गरे। एन्फाले यसअघि २०८० चैत २५ गतेबाट लिग गर्ने घोषणा गरेको थियो। तर, दुईपल्ट मिति सारेर गत वर्ष वैशाखमा लिग नहुने जानकारी दियो। भण्डारी उक्त लिग हुने भनेसँगै आफ्नोसहित केही क्लबले १५ लाखभन्दा माथि खर्च गरेको बताउँछन्। त्यो रकमको केही हिस्सा एन्फाले क्षतिपूर्तिस्वरूप दिनुपर्ने माग राख्दै आफूहरू टिम दर्ता गर्न नगएको उनको भनाइ छ।
‘एन्फाको लापरबाहीका कारण एएफसी कपको दोस्रो चरण खेल्न नपाउँदा थ्री स्टारलाई एक करोड ५० लाख क्षतिपूर्ति तिरेको नजिर अझै ताजा छ। तर, हामीले त्यति ठूलो रकम पाउनुपर्छ भनेका होइनौं। खेलाडी अनुबन्ध गर्दा र राख्दा ठूलो रकम खर्च भएको छ। त्यसैले केही राहत पाउनुपर्छ भन्ने हो। तर, एन्फा लचिलो हुने छाँटकाँट देखिएन,’ उनले भने।
एन्फाले भने पुस ३ गतेभित्र टिम दर्ता नगरे प्रतियोगिताको नियमावलीअनुसार अघि बढ्ने शनिबार सूचना निकालेको छ। लिग सञ्चालन गर्न तयार पारिएको नियमावलीमा भनिएको छ, ‘लिगमा सहभागिता नजनाए क्लबलाई ‘सी’ डिभिजनमा झारिनुका साथै एन्फाले थप कारबाही तथा पाँच लाख जरिवाना गर्नेछ। साथै तोकिएको समयसीमाभित्र क्लब दर्ता नभएमा दर्ता भएका क्लबहरूबीच मात्र लिग सञ्चालन गरिनेछ।’
यो सूचनासँगै एन्फा र क्लबबीच झन् द्वन्द्व बढाउन खोजेको ‘बी’ डिभिजनका संयोजक तथा आरसिटीका उपाध्यक्ष कुमार राजभण्डारी तर्क गर्छन्। उनी भन्छन्, ‘चार÷पाँचवटा क्लब खेलाएर द्वन्द्व निम्त्याउन खोज्छ भने एन्फाले निम्त्याओस्। तर, उठाएको माग पूरा गर्दैन भने हामी टिम दर्ता गराउँदैनौं, लिग खेल्दैनौं। यो ओपन च्यालेन्ज हो।’
प्रकाशित: ३ पुस २०८१ १०:०५ बुधबार