उदयपुरको ब्रदरहुड फुटबल क्लबले ताप्लेजुङको तेल्लोकमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधि जितेको छ। सडनडेथमा मरिक फुटबल क्लब सुनसरीलाई पराजित गर्दै ब्रदरहुड च्याम्पियन बनेको हो।
निर्धारित समयमा दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा पनि ५–५ को बराबरी भएपछि खेल सडनडेथतर्फ धकेलियो।
सडनडेथमा ब्रदरहुडका गोलरक्षक सौरभ बराल नायक बने। उनले मरिकका पूर्ण चेम्जोङको प्रहार रोक्दै आफ्नो टिमलाई जित दिलाए।
ब्रदरहुडले उपाधिसँगै नगद २ लाख ५० हजार ५५५ रुपैयाँ, सिरिजङ्गासिंह थेबेको प्रतिमा भएको ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता बनेको मरिकले १ लाख २५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो।
खेलको सुरुवातमै ब्रदरहुडका आकाश राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, मरिकका निवस फुयाँलले जवाफी गोल गर्दै खेल बराबरीमा ल्याए। मरिकका लागि निश्चल लामाले उत्कृष्ट हेडर गोलमार्फत अग्रता २–१ को अवस्थामा पुर्याए पनि त्यो लामो समय टिक्न सकेन। ब्रदरहुडका आकाश राईले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई फेरि बराबरीमा ल्याए, जसले खेललाई टाइब्रेकरमा धकेल्यो।
प्रतियोगिता मंसिर २३ गतेदेखि सुरु भएको थियो। जसमा थुप्रै रोमाञ्चक क्षण देख्न पाइयो। अन्ततः ब्रदरहुड एफसी उदयपुरले ऐतिहासिक प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो।
प्रकाशित: २९ मंसिर २०८१ १७:३० शनिबार





